सोसल मिडिया
युनिकोड
वि.स. २०७० मा स्थापना भएको नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौँ वार्षिकोत्सवको अवसरमा हिजो नेपाल पर्यटन बोर्डमा मुक्तक दिवस सम्पन्न गर्यो ।
प्रतिष्ठानले सो अवसरमा वरिष्ठ मुक्तककार उषा शेरचनलाई ५१,०००/- राशिसहित "भीमदर्शन मुक्तक पुरस्कार" र मुक्तककार डा. रूपक श्रेष्ठ (बेलायत)लाई ३१,०००/- राशिसहित "कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार" प्रदान गर्यो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा आयोजित सो कार्यक्रममा दुबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र अध्यक्ष कोनेले प्रदान गर्नु भएको हो ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेको प्रा. डा. लक्ष्मणप्रसाद गौतमको "नेपाली मुक्तकको रचनाविधान", नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाद्वारा प्रकाशित "ईलिंग" स्मारिका, र डा. रूपक श्रेष्ठका कृतिहरू "चौशुल" र "पाेख्तक" (अंग्रेजी संस्करण)को लोकार्पण गरियो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुक्तक विधालाई समाजको संवेदनशील र अति सुक्ष्म साहित्यिक अभिव्यक्तिको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै "मुक्तक समाजलाई थोरै शब्दमा धेरै कुरा भन्न सक्ने शक्तिशाली विधा हो । आजको तीव्र गतिको समाजमा मुक्तकले विचार, पीडा, आशा र दर्शनलाई सटिक रूपमा व्यक्त गर्न सक्छ।" भन्नु भयो ।
यसैगरी अध्यक्ष रामकाजी कोनेले मुक्तक दिवसको विशेष शुभकामना व्यक्त गर्दै मुक्तक विधाको सौन्दर्य र गहिराइलाई सरल रुपमा व्याख्या गर्नु हुँदै "थोरैमा धेरै र बिन्दुमा सिन्धु अटाउने साहित्यिक विधा नै मुक्तक हो । यसले सीमित शब्दभित्र असीमित भाव अटाउन सक्छ ।" भन्नु भयो ।
कार्यक्रममा "भीमदर्शन मुक्तक पुरस्कार"बाट सम्मानित वरिष्ठ मुक्तककार उषा शेरचनले यस सम्मानले मुक्तक विधाप्रतिको मेरो जिम्मेवारी अझ बढाएको उल्लेख गर्दै मुक्तकलाई जीवनको अनुभूति र अनुभवको सूक्ष्म अभिव्यक्ति बताउँदै मुक्तकले जीवनको गहिरो अनुभूति, पीडा र प्रेमलाई सानो आकारमा पनि गम्भीर रूपमा बोकेको हुन्छ " भन्नु भयो।
अर्का सम्मानित डा. श्रेष्ठले मुक्तकलाई आत्मअनुशासन र चेतनाको अभ्यासका रूपमा वर्णन गर्दै मुक्तक लेखन शब्दको खेल मात्र होइन, चेतनाको अनुशासन हो । यसले लेखकलाई जिम्मेवार र पाठकलाई संवेदनशील बनाउँछ ।’ भन्नु भयो ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार प्रा.डा. लक्षमणप्रसाद गौतम, समालोचक केशव सिग्देल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्रतिष्ठानका पूर्व महासचिव रमेश पौडेलले आआफ्नो मन्तव्य राख्नु भएको थियो । उहाँहरुले नेपाली मुक्तकको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानबारे विचार व्यक्त गर्नु भएको थियो ।
नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष राधेश्याम लेकालीले स्वागत एवं कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्नु भएको सो कार्यक्रमको सहजीकरण महासचिव यादव भट्टराईले गर्नु भएको थियो ।
कृतिहरु लोकार्पण, पुरस्कार समर्पण र मुक्तक पाठसहित सम्पन्न कार्यक्रमले नेपाली मुक्तक साहित्यको वर्तमान अवस्था र सम्भावनालाई सशक्त रूपमा उजागर गरेको सहभागीहरूले धारणा राख्नु भएको थियो । नेपाल मुक्तक प्रतिष्ठानबाट आगामी दिनमा पनि मुक्तक विधाको प्रवर्द्धन, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
कार्यक्रममा साहित्य, समालोचना र मुक्तक विधाका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।