Dashain Banner
Dashain Banner

बिपी कोइरालाले थालेको ‘चियापान समारोह’ गगनले गर्दै नगर्ने

आइतबार, कात्तिक १, २०८३

नेपाली कांग्रेसले यसपटक कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने भएको छ। देशमा भदौ र असोजमा भएको प्राकृतिक प्रकोपका कारण यसपटक चियापान कार्यक्रम नगर्ने भएको हो।

आइतबार सूचना जारी गरेर उक्त जानकारी दिएको हो। सूचनामा भनिएको छ, ‘यो वर्ष देश शोकको सामना गरिरहेको स्थितिमा छ। भोटेकोसीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र ५ हजार बढी बेपत्ता रहेको अवस्था छ भने बुढिगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ। यस्तो दुःखद घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने व्यहोरा अनुरोध गरिन्छ।’

बिपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपश्चात २०३४ सालको कोजाग्रत पूर्णिमाको दिन सौहार्दता अभिवृद्धि र शुभकामना आदान–प्रदान गर्न ‘चियापान समारोह’ आयोजना गरेका थिए। तत्पश्चात् निश्चित कारणवश कुनै वर्ष आयोजना नभएको बाहेक हरेक वर्ष कांग्रेसले सोही तिथिमा कार्यक्रम गर्दै आएको छ।

शोकको यो घडीमा चाडपर्व मनाइरहँदा भड्किलो ढंगले नभई शान्त र संयमित ढंगले परिवारमा सीमित रहेर मनाउन पनि सभापति गगन कुमार थापाले आग्रह गरेका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १३:०८
प्रतिक्रिया दिनुहोस्