सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस र वाग्मती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो ।
लुम्बिनी, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिएका छन् ।
त्यसैगरी, सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खस आर्य र थारू तर्फको मतगणना पनि राति अबेर सकिएको उनले बताए । सबैको मतपरिणाम रुजु गर्ने कार्य भइरहेकाले केही बेरमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ । अन्य पदहरूको भने यसअघि नै गणना सम्पन्न भइसकेको थियो ।
गत असोज २३ गते मतदान गरिएको थियो । सोही दिन राति सभापतिको मतगणना गरेर सुरु भएको मतगणना कार्य झन्डै एक हप्तामा सकिएको हो । राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम असोज २४ गते बिहान आएको थियो । अन्य पदको मतगणना भने २४ गते रातिदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिएको थियो ।
१४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो । यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य–सचिव कटुवालले जानकारी दिए ।
उनका अनुसार, गणना सुरु भएकै दिनदेखि झन्डै २५ समूह बनाएर गणना गराइएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सृजना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।
यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको उनले बताए । कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।
अघिल्लो महाधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो भएको निर्वाचन समितिका सदस्य–सचिव कटुवालको दाबी छ ।उनका अनुसार, प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दसैँलगत्तै गर्ने तयारी भएको छ । त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन् । उक्त बैठकमै स्थानीय तहको निर्वाचनको खाका बनाउने तयारीसमेत भइरहेको बुझिएको छ ।