बिचौलिया भट्टको मतियार भएपछि पूर्व गृहसचिव २४ करोड काण्डमा डामिए

शुक्रबार, असोज २३, २०८३

सर्वसाधारण नागरिक र सरकारी बैंकहरूको समेत लगानी रहेको पुनर्बीमा कम्पनीबाट झन्डै २४ करोड रुपैयाँ हिनामिना गरी आफ्नै घर-परिवारभित्र घुमाएर ‘सेतो’ बनाइएको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दिपक भट्टसहित २० जना व्यक्ति र कम्पनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी र सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दा दायर गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल बीमा प्राधिकरणको संयुक्त छानबिनपछि बिचौलिया व्यापारी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र तत्कालीन सीईओ उपासना पौडेलसहितविरुद्ध मुद्दा दायर गरेको हो। सिलवाल गृहमन्त्रालयका पूर्व सचिव समेत हुन्। सिलवाल २०७० चैतदेखि २०७२ मङ्सिरसम्म गृहसचिव रहेका थिए। 

सरकारी वकिलले दायर गरेको ७६ पृष्ठको अभियोगपत्र अनुसार यो घोटालाको मुख्य योजनाकार व्यापारी दीपक भट्ट हुन् भने उनलाई कानुनविपरीत लाइसेन्स दिएर, नक्कली बिल सदर गरेर र आँखा चिम्लिएर उद्योगी शेखर गोल्छा, नियामकका पूर्वप्रमुख सिलवाल र उच्च कर्मचारीहरूले साथ दिएका थिए।

घटनाका मुख्य योजनाकार दीपक भट्टले आफ्नो नाम कतै नदेखिने गरी सासु, श्रीमती र साथीभाइका नाममा नक्कली कम्पनी र बैंक खाताहरू खोलेर बीमाको पैसा आफ्नो खल्तीमा हाले। उनी अहिले अर्को सम्पत्ति शुद्धीकरण मुद्दामा सिन्धुपाल्चोक कागागारमा छन्।

नियामकका पूर्वअध्यक्ष रहेका सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा सुशासन कायम गराउने जिम्मेवारी पाएका तत्कालीन अध्यक्ष सिलवालले एलियन्ट कम्पनीको पुँजीको स्रोत के हो, सञ्चालक को हुन् भन्ने कुनै जाँचबुझ नगरी गैरकानुनी रूपमा ब्रोकरको लाइसेन्स दिए। उनले नै यो ठगीको बाटो खोलिदिएको अभियोगपत्रमा उल्लेख छ।

हिमालयन रि-इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्ष शेखर गोल्छासहित सञ्चालकहरू (रोहित गुप्ता, अमित मोर, साहिल अग्रवाल, सुभाषकुमार झुनझुनवाला, शुभेच्छा खरेल, राजीव मोर र साक्षी बंशल गुप्ता) ले सर्वसाधारण र राज्यको लगानी भएको संस्थाको पैसा सुरक्षा गर्ने आफ्नो कानुनी कर्तव्य पूरा गरेनन्। उल्टै, बोर्ड बैठकबाट ती नक्कली खर्च र फर्जी वार्षिक प्रतिवेदनहरू आँखा चिम्लिएर पास गरिदिए।

मासिक ३० लाख रुपैयाँ तलब खाने तत्कालीन सीईओ उपासना पौडेलले कुनै जाँचबुझ नगरी फर्जी हिसाब मिलान गरिदिइन्। भारतीय नागरिक रहेका तत्कालीन सीईओ चन्द्रशेखरन रामामूर्तिले बिना आधार २८ करोड पेस्की दिएका थिए भने कार्यकारी निर्देशक मनिष कुमारले फर्जी भौचर सदर गरेका थिए।

सहयोगी मनोज कुमार अग्रवालले अञ्जना नेपालको नाममा एलियन्ट कम्पनी खोल्न सुरुवाती २ करोड ४० लाख रुपैयाँ हालिदिएका थिए। साथै, दीपक भट्टलाई चढ्नका लागि आफ्नो कम्पनी ‘फक्स ट्राभल्स’को नाममा मर्सिडिज बेन्ज कार (बा १९ च ३४०६) किनेर दिएका थिए। त्यो गाडी प्रहरीले दीपक भट्टकै कार्यालयबाट बरामद गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १४:४६
प्रतिक्रिया दिनुहोस्