सोसल मिडिया
सम्पर्क
युनिकोड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो शासनकालमा निजामती भित्र नायवी चलाएका तत्कालिन सचिव (जो पछि मुख्यसचिव पनि भए) एकनारायण अर्याललाई यतिवेला भ्रामरी दशाको लप्कोले छोप्नुसम्म छोपेको छ ।
पदमा छँदा गर्नुपर्ने भन्दा पनि गर्न नहुने काममा समूहनै खडा गरेर खेलोमेलो गरेको तथ्यको परावर्तनले अर्याललाई उम्किनै नसक्ने डार्क होलमा हुलिदिएको छ । सचिव हुँदै हरेक मन्त्रालयमा खेलोफड्को टीम निर्माण गरेका अर्यालले राज्यलाई हानी नोक्सानी हुने अनेक काम गर्न भ्याएका छन् ।
मलेसिया रोजगार ठगी प्रकरणमा दुई पूर्वमन्त्री एक पूर्वसचिव सहित दुई सहसचिव र एक उपसचिवलाई सिआईबीले नियन्त्रणमा लिएपछि हंसले ठाउँ छोडेका अर्याल बेपत्ता बनेका छन् । उनको नाममा समेत पक्राउ पूर्जी जारी भईसकेको छ ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को हिरासतमा पुगेका छन्। सिआईबीका अनुसार उनलाई ठगी तथा संगठित अपराध कसूरमा पक्राउ गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार प्रतिवादी कैलाश खड्कासमेत भएको ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान अघि बढ्दा मन्त्री कुँवर पक्राउ परेका हुन्। उक्त प्रकरणमा तत्कालीन अर्का श्रममन्त्री रामेश्वर राय, सचिव विनोद केसी, तत्कालीन सहसचिवद्वय राजिव पोखरेल र उमेश ढुंगाना तथा मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ समेत पक्राउ परेकी हुन्।
तत्कालीन मन्त्री कुँवर पक्राउ पर्दा उनको कार्यकालमा सचिव रहेका एकनारायण अर्याल भने फरार भएका छन्। ठगी तथा संगठित अपराध कसूरमा पक्राउ परेका तत्कालीन मन्त्री कुँवर सिआईबीको हिरासतमा पुग्दा उनका सचिव एकनारायण अर्याल भने लापत्ता भएका हुन्। अर्याल सचिव हुँदाका रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेल समेत सिआईबीको हिरासतमा पुगेका छन्। एक्ला एकनारायण भने सिआईबीको हिरासत छलेर लापत्ता भएका हुन्। सामान्य प्रशासन मन्त्रालयबाट श्रम सचिव बनेका अर्यालले सामान्यमै कार्यरत पोखरेललाई आफू सँगै श्रम मन्त्रालयमै लिएर गएका थिए ।
एकनारायण तत्कालीन श्रममन्त्री कृष्णकुमार श्रेष्ठको पालामा श्रम मन्त्रालय पुगेका थिए। एकनारायण तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०७८ मंसिरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरूवा भएर गएका थिए। एकनारायणले २०८० जेठ अन्तिमसम्म डेढ वर्ष बढी श्रम सचिवको भूमिकामा काम गरेका थिए ।
ऊ बेला ओलीको आडमा मन्त्रीलाई नै टेरपुच्छर नलगाउने अर्याल अहिले भने त्यहीबेला गरेको कृत्यका कारण अन्तै कुद्नु पर्ने बाध्यतामा फसेका छन् ।