दुई पूर्व श्रममन्त्री र एक जना पूर्व सचिव सहित आधा दर्जनलाई सीआईबीले पार्यो च्याप्पै

बुधबार, मंसिर २, २०८३

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जना पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहित ६ जना पक्राउ गरेको छ ।

सीआईबीले पूर्व मन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई बुधबार पक्राउ गरेको हो। कुँवर तत्कालिन नेपाल समाजवादीका र यादव तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री भएका थिए । कुँवर अछामका हुन् भने यादव सर्लाहीका हुन् ।

त्यस्तै  श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, सहसचिव राजिव पोखरेल र उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।  केसी वैदेशिक रोजगार विभागको महानिर्देशक भईसकेका अधिकारी पनि हुन् ।

उनीहरुलाई ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुप शमशेर जबराले बताए। 

प्रधानमन्त्री कार्यालयको पत्र र विकास रानाभाटको जाहेरीले यसअघि यही मुद्दामा  कैलाश खड्कालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। 

मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौता विपरित गैर कानूनी रुपमा ठगी गरी संकलन गरिएको रकम मध्ये अमेरिकी डलर ३ लाख ७० हजार ४३९ र बेलायती मुद्रा (जीबीपी) ३७ लाख १७ हजार ९०.८० गरी १ अर्ब ६९ करोड २ लाख २४ हजार ०२६.७६ अपचलन गरेको आरोप छ।

सम्झौताको दायरा र कानूनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर बदनीयतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्र प्रतिकुल (मुद्रा संचितीकरणमा नोक्सानी) हुने निर्णय गरेको आरोप छ। 

संगठित समूहको लाभको लागि जानी जानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्य विपरीत श्रमिकहरुलाई संगठित रुपमा ठगी गर्ने कार्यमा मौन रहेको आरोप उनीहरुलाई लगाइएको छ।

गैर कानूनी रुपमा संकलन भएको रकम मलेसिया पठाउने निर्णय गर्ने कार्यमा संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गर्न बुधबार नै जिल्ला अदालत काठमाडौँबाट सीआईबीले अनुमती लिएको थियो। 

उनीहरुलाई आजै काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

918363807_1155530693620071_5370660387862513777_n-1795016167.jpg

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  २१:१४
प्रतिक्रिया दिनुहोस्