सोसल मिडिया
सम्पर्क
युनिकोड
जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्जका अधिकृत छैठौं (प्राविधिक) गजेन्द्र प्रसाद जायसवाल र अधिकृत छैठौ (प्राविधिक) विकी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अधिकृतद्वय जायसवाल र यादवविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
आर्थिक वर्ष २०८२/०८३ मा जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्ज, पर्साबाट जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं. ३ मा जलस्रोतको पुनर्भरण / भण्डारण कार्य (सार्वजनिक इनार / पोखरीको निर्माण तथा मर्मत सम्भार कार्य योजना सम्पन्न गरेको अवस्थामा जायसवाल र यादवले योजनाको भुक्तानी दिएबापत र धरौटी रकम फिर्ता दिने प्रयोजनको लागि सो रकम माग गरी लिएको अख्तियारको दाबी छ।
जायसवाल र यादव समेतको आपसी मिलेमतो तथा योजनामा सेवाग्राहीसँग तीन लाख ४५ हजार रूपैयाँ लिन सहमत भई पूर्व योजना तथा सहमति बमोजिम कार्यालय समयमा पैसा लिन मिल्दैन भनी सोही स्थानमा रहेको अर्को व्यक्तिलाई घुस (रिसवत) रकम दिन भनेको र निजले भने बमोजिम घुस (रिसवत ) रकम लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
प्रतिवादीहरू गजेन्द्र प्रसाद जायसवाल र विकी यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो तीन लाख ४५ हजार रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको हो।