सोसल मिडिया
सम्पर्क
युनिकोड
यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव राजिव पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ ।
मलेसिया जाने नेपाली श्रमिकमाथि संगठित रूपमा ठगी गरी संकलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित पक्राउ परेका ६ जना मध्येका एक जना उनै पोखरेल हुन् ।
पक्राउ पर्ने अन्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना र तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ रहेका छन् ।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो । ठगीसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा ठगी गरी संकलन गरिएको रकम मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको ब्युरोका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक नियम शमशेर जबराले बताए ।
उक्त प्रकरणमा ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा अपचलन भएको प्रहरीको दाबी छ ।
सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराउने निर्णय गरिएको तथा त्यसबाट मुलुकको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुगेको सीआईबीको भनाइ छ ।
पोखरेल २०८१ असोजदेखि निरन्तर विभागको महानिर्देशकको जिम्मेवारीमा छन् । पोखरेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशको प्रदेश सचिवबाट भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएर आएका थिए । त्यहाँबाट सिधै महानिर्देशकको जिम्मेवारीमा पुगेका थिए ।
मधेश प्रदेश मन्त्रालयको सचिव भन्दा अघि उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगार व्यवस्थापन महशाखा प्रमुखको जिम्मेवारीमा थिए भने त्यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहसचिवको जिम्मेवारीमा थिए ।