वालेन्द्रले विराजभक्तको नाममा लगाए बिर्को, स्वर्णिमको नाम सदर

बुधबार, मंसिर २, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ गते हुने भारत भ्रमणमा जानेहरुको सूचीबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नाम काटिएको छ। उनको ठाउँमा अब अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जाने भएका छन्। 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अब प्रधानमन्त्रीसँग अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल जानेछन्। बुधबार बिहान मात्रै परराष्ट्र मन्त्रालयले ऊर्जामन्त्री श्रेष्ठको पासपोर्ट माग्दै दिल्ली आउजाउको टिकटबारे जानकारी दिएको थियो। 

यस विषयमा ऊर्जा मन्त्रालयसँग बुझ्दा भ्रमण टोलीबाट ऊर्जामन्त्रीको नाम काटिएकोबारे कुनै जानकारी नभएको एक सहसचिवले बताए। उनका अनुसार भारत भ्रमणका एजेन्डाका विषयलाई मन्त्रालयले अन्तिम रूप दिइरहेको छ।

यसैबीच, वरीयतामा अघि रहेका अर्थमन्त्री पनि प्रधानमन्त्रीसँगै भारत जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा ऊर्जामन्त्री श्रेष्ठलाई दिने प्रधानमन्त्री शाहको तयारी छ। यस अघि पूर्वाधार मन्त्री र पर्यटन मन्त्री पनि भ्रमण दलमा सामेल हुने चर्चा थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १८:३२
प्रतिक्रिया दिनुहोस्