सोसल मिडिया
सम्पर्क
युनिकोड
ओखलढुंगाको लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार लिखु गाउँपालिका– ९ मा आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता भएको पाइएको छ। भत्ता वितरणका क्रममा आफ्नै औँठाछाप लगाएको, दोहोरो नाम समावेश गरेको तथा मृत्यु भइसकेका र बसाइँसराइ गरेका लाभग्राहीलाई समेत भत्ता वितरण गरेको देखाएर रकम हिनामिना गरेको आरोप छ।
यस प्रकरणमा लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, अभयकुमार गुप्ता, वडाध्यक्ष शुकवीर तामाङसहित पाँचजनालाई प्रतिवादी बनाइएको छ।
अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ३१ लाख ६७ हजार दुई सय रुपैयाँ बिगो कायम गरेको छ। उक्त बिगोबराबरको जरिवाना, कैद तथा बिगो असुलउपर गर्न मागदाबी लिइएको आयोगले जनाएको छ। त्यसैगरी, सोही ऐनको दफा ११ बमोजिमसमेत सजाय हुन मागदाबी गरिएको छ।
आयोगले सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा सामाजिक सुरक्षा भत्ताजस्तो संवेदनशील कार्यक्रमको रकममा भएको अनियमिततासम्बन्धी कसुरमा कानुनी कारबाही अघि बढाएको हो।