स्याङ्जामा कम्युटर अपरेटर नै बनिदिए सिडिओ, तीन कर्मचारीको हातमा हत्कडी

मंगलबार, कात्तिक १७, २०८३

कम्युटर अपरेटरले सिडिओको हैसियतमा हस्ताक्षर गरेर किर्ते काम गरेपछि नक्कली सिडिओ सहितका तीन जना कर्मचारीको हातमा प्रहरीले हत्कडी लगाएको छ ।

सरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा स्याङ्जामा तीन कर्मचारी पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालयले प्रमाणसहित अनुसन्धान र कारबाहीका लागि पठाएको करिब दुई महिनापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

स्याङ्जाको साविक आरुखर्क–८ का प्रयासी गुरुङका दुई बालबालिकाको नाबालक परिचयपत्र बनाउने क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा पेस गरिएका कागजात रुजु गर्दा उनको नाममा दुईवटा नागरिकता रहेको खुलेको थियो ।

गुरुङले २०५६ चैत ३ गते साविक आरुखर्क–८, स्याङ्जाको ठेगाना राखेर ५७०६६ नम्बरको नागरिकता लिएका थिए । त्यसको करिब छ महिनापछि २०५७ भदौ २५ गते पोखरा लेखनाथ महानगरपालिका–७, कास्कीको ठेगाना राखेर १०८५८८ नम्बरको अर्को नागरिकता लिएको अभिलेखमा देखिएको थियो ।

दुईवटा नागरिकता भेटिएपछि कास्की प्रशासनले पहिलो नागरिकता रद्द गरिएको भए त्यसको कानुनी आधार, प्रक्रिया र निर्णयसम्बन्धी कागजात स्याङ्जा प्रशासनसँग मागेको थियो । सोही क्रममा स्याङ्जा प्रशासनको अभिलेखमा अनधिकृत हेरफेर भएको विषय खुलेको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले बताए ।

घिमिरेका अनुसार छानबिनका क्रममा लेखापाल रमेश विकले कागजात तयार गर्ने, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईंले तत्कालीन प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गर्ने र प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेलले प्रमाणित गर्ने गरेको देखिएको थियो ।

कुनै निर्णय नै नभई निर्णयअनुसार नागरिकता रद्द भएको देखाउने गरी कागजात तयार पारेर लाखौँ घुस लिएको आरोपमा उनीहरु समातिएका हुन् । तीन भाई मिलेर अन्य सोही प्रकारका काम समेत गरेको बुझिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  ११:४१
प्रतिक्रिया दिनुहोस्