हाकिमले मेयरको आर्थिक तोकमा रेजा लगाएपछि वराहक्षेत्रका मेयर बटारिए

शुक्रबार, कात्तिक १३, २०८३

सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत बीचको लफडा सतहमा आएको छ ।

दसैँ बिदापछि ढिलो गरी कार्यालयमा हाजिर भएको भन्दै मेयर रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको गाडी सुविधा खोसेपछि लफडा सार्वजनिक भएको हो ।

दशैं बिदापछि सोमबारदेखि कार्यालय खुलेपनि प्रमुख प्रशासकीय अधिकृत गिरी बिहिबार कार्यालय पुगेकी थिइन् । तर, मेयर कार्कीले गिरीको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै हाजिरी पुस्तिकासमेत लुकाईदिएका छन् ।

मेयर कार्कीले गाडी सुविधा हटाउनुका साथै कार्यकक्षमा तालाबन्दी गरेका हुन् । गिरीले गत चैतदेखि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

उनी जिम्मेवारीमा आएपछि मेयर कार्कीले गर्ने खर्चमा रोक लगाउन थालेसँगै दुईबीच सम्बन्ध बिग्रिएको नगरपालिका स्रोतको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृतले जथाभाबी हुने भुक्तानीमा कडाइ गरेपछि मेयरले उनको काज फिर्ता गराउने प्रयास गरेको स्रोतले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गिरीको काज फिर्ता नभएपछि मेयर कार्कीले कार्यपालिकाबाटै निर्णय गराएका थिए ।

कार्कीका अनुसार २०८३ कात्तिक १० गते बसेको नगर कार्यपालिकाको ७२औँ बैठकले गिरीलाई अब उप्रान्त कार्यालयमा हाजिर हुन नदिने र मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको छ ।

नगरपालिकाको खाता संचालन प्रमुख प्रशासकीय अधिकृत गिरी र लेखा प्रमुखबाट हुँदै आएको छ । आफूले लगाउँदै आएको आर्थिक तोकमा गिरीले तगारो हालेपछि रन्थनिएका मेयरले उनैलाई उडाउन अत्तो थापेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्