गणेश र ईश्वरको रसायनमा गृहको जोड्ती, सरुवाको मुखैमा एक दर्जन सिडिओ

बुधबार, कात्तिक ११, २०८३

जेनजी आन्दोलन अघिदेखि नै चितवनको प्रमुख जिल्ला अधिकारीमा खटाईएका सहसचिव गणेश अर्याल चितवनको सिडिओ भएको १४ महिना पूरा भएको छ । २०८२ भदौ ३ गते  गृह मन्त्रालयले उनलाई चितवनको सिडिओमा खटाएको थियो । 

उनी संगै भोजपुरको सिडिओ खटाईएका सहसचिव शिवलाल तिवारीले भोजपुरपछि तनहुँको सिडिओ चलाईरहेका छन् तर अर्यालले भने अझै पनि चितवन छोड्नु परेको छैन । गृह मन्त्रालयको एकै दिनको निर्णयले अर्याल चितवन र तिवारीको भोजपुर सरुवा भएको थियो । तिवारीको सरुवा हुने बेला हुँदा सम्म पनि अर्यालको रजगज एकै जिल्लामा निरन्तर छ । पर्साको सिडिओबाट चितवन सारिएका अर्याल रुपन्देहीको पनि सिडिओ भईसकेका अधिकारी हुन् ।

अर्यालपछि सिडिओमा लामो समय जम्ने अर्का सिडिओ हुन् काठमाडौंका ईश्वरराज पौडेल । गृह मन्त्रालयले छविराज रिजाललाई हटाएर ईश्वरराज पौडेललाई काठमाडौंको सिडिओको जिम्मेवारी दिएको हो। छविराज जेनजी आन्दोलनको हावाहुरी संगै उडेका थिए । उनलाई गत साल असोज ५ गतेको निर्णयले काठमाडौँको सिडिओमा खटाईएको थियो ।

गत वर्ष कार्तिक ९ गते एकैदिन सिडिओ बनाईएका दश जिल्लाका सिडिओले एक वर्ष पूरा गरिसकेका छन् । मोरङका सिडिओ युवराज कट्टेल, पर्साका सिडिओ भोला दाहाल, धनुषाका सिडिओ प्रेमप्रसाद लुईटेल, महोत्तरीका सिडिओ इन्द्रदेव यादव, मकवानपुरका सिडिओ बसन्त अधिकारी, सिन्धुलीको सिडिओ स्किम श्रेष्ठ, काभ्रेपलाञ्चोकका सिडिओ गोपालकुमार अधिकारी, बाँकेका सिडिओ दिलकुमार तामाङ, बर्दियाका सिडिओ गोगनबहादुर हमाल र कैलालीका सिडिओ हिरालाल रेग्मी एक वर्ष पूरा हुने सिडिओमा पर्छन्। एक वर्ष अवधि पुगेका सिडिओको हेराफेरी गर्न गृहमन्त्रालयले सूची निर्माण गर्न थालिसकेको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  ०९:१३
प्रतिक्रिया दिनुहोस्