दशैं बिदापछि सरकारी कार्यालयहरू खुले, आगामी हप्तादेखि कार्यालय समय ९-४ सम्म

सोमबार, कात्तिक ९, २०८३

दसैँको लामो सार्वजनिक बिदा सकिएसँगै काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन बिस्तारै पुरानै लयमा फर्किएको छ। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार लगायतका सरकारी कार्यालयहरू औपचारिक रूपमा सञ्चालनमा आएका छन्। 

दसैँको अवसरमा सरकारले दिएको लामो बिदापछि पहिलो दिन कार्यालय खुले पनि सेवाग्राही र कर्मचारीको उपस्थिति भने अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन।

बिहान नौ बजेदेखि नै सरकारी कार्यालय खुल्ने नियम रहे पनि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय तथा विभागहरूमा कर्मचारीको उपस्थिति पातलो देखिएको छ। राजधानीका मुख्य सडकहरूमा सवारीसाधनको चाप बिस्तारै बढ्न थालेको छ भने उपत्यका बाहिर गएका सर्वसाधारणको फिर्ती यात्रा अझै जारी छ। 

कार्यालय खुलेको पहिलो दिन भएकाले कर्मचारीहरू दसैँको थकान र पारिवारिक जमघटबाट पूर्ण रूपमा कार्यक्षेत्रमा फर्किने क्रममै रहेका छन्। जसका कारण सुरुवाती दिनमा कार्यालयहरूमा कामको गति केही सुस्त देखिएको छ।

तथापि, केही दिनभित्रै कर्मचारीहरूको पूर्ण उपस्थिति हुने र प्रशासनिक कामकारबाहीले नियमित गति लिने सरकारी अधिकारीहरूले जनाएका छन्। लामो बिदाका कारण रोकिएका महत्त्वपूर्ण प्रशासनिक कामहरू अबको केही दिनमा तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ। 

हाल कार्यालयहरूमा कर्मचारीको सङ्ख्या कम देखिए पनि सेवाग्राहीहरूको उपस्थिति समेत फाटफुट मात्र रहेको छ। आज सोमबारदेखि कार्यालय शुरु भएका कार्यालय ९ बजेदेखि ५ बन्द हुन्छन । आगामी हप्ताको सोमबार कार्तिक १६ गतेदेखि भने कार्यालय समय ९ देखि ४ बजेसम्म मात्र हुनेछ । कार्तिक १५ देखि माघ १५ सम्म कार्यालयहरू ९ देखि ४ बजेसम्म संचालन हुने छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १३:०१
प्रतिक्रिया दिनुहोस्