गोलबजारका पूर्वमेयर सहितका आधा दर्जनको तेल निकाल्न अदालतमा हाल्यो ओईरो

मंगलबार, कात्तिक १०, २०८३

सिरहाको गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध एक करोड ६० लाखभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

पूर्वमेयर तेली, पूर्वउपमेयर रेशमकुमारी थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र ठेकेदार वीरेन्द्रकुमार यादव लगायतमाथि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कुनै सम्झौताबिनै अग्रिम राजस्व असुल गरी बाँकी राजस्व रकम हिनामिना गरेको अभियोग तेलीसहितका आरोपीमाथि लगाइएको छ । अख्तियारका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा वडा नम्बर ६ र ७ मा पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजार सञ्चालनबापत राजस्व संकलन गर्ने प्रयोजनका लागि ठेकेदार वीरेन्द्रकुमार यादवलाई अमानतमा जिम्मेवारी दिनेक्रममा राजस्व हिनामिना भएको थियो । 

अमानतमा संकलन गर्नुपर्ने राजस्व रकम ठेकेदारलाई दिइएको दाबी अख्तियारको छ । ठेकेदार यादवबाट असुल गर्नुपर्ने रकमसमेत असुल नगरी सरकारी सम्पत्ति हिनामिना पारिएको अख्तियारले जनाएको छ । अख्तियार दाबीअनुसार नगरसभाबाट मात्र दिन मिल्ने कर छुटको अधिकार प्रयोग गरी ७३ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिने निर्णय गरिएको अनुसन्धानबाट खुलेको छ । 

तत्कालीन नगरप्रमुख तेली, उपप्रमुख थापा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केसीविरुद्ध भ्रष्टाचारमा जनही एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरेको छ । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो र राजस्व शाखा प्रमुख रहेका दिनेशकुमार सहनीविरुद्ध जनही एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो असुल्न माग छ । 

ठेकेदार रहेका यादवविरुद्ध पनि एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो असुल गरी भ्रष्टाचारमा सजायको माग छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १७:०४
प्रतिक्रिया दिनुहोस्