मन्त्रालयका कर्मचारीसँग हिमचिम भएको सुनाएर ५ करोड ८० लाख ठग्ने समातिए 

बिहीबार, कात्तिक १२, २०८३

सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

मन्त्रालयको उच्च तहमा पहुँच रहेको विश्वास दिलाएर सर्वसाधारणबाट मोटो रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा सीआईबीले काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने ६० वर्षीय प्रेम नारायण खनाललाई पक्राउ गरेको हो। जालिम सिंह महतोले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सीआईबीका अनुसार आरोपीहरूले कृषि अनुदान सहजै मिलाइदिने भन्दै पीडितहरूलाई विभिन्न बहाना बनाएर पटक–पटक गरी कुल ५ करोड ८० लाख रुपैयाँ ठगी गरेका थिए। नेपाल सरकार वादी रहेको यस ठगी सम्बन्धी कसुर मुद्दामा पुजा खड्गीसमेतलाई प्रतिवादी बनाइएको छ।


 

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १५:२५
प्रतिक्रिया दिनुहोस्