अदालत देखाएर बुढानीलकण्ठमै बसिरहेका उपसचिव बर्तौलाको आर्थिक अधिकारमा बध्याकरण

शुक्रबार, कात्तिक १३, २०८३

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक अधिकारमा बध्याकरण गरेको छ । मन्त्रालयले सरुवा गरेको तर प्रशासकीय अदालतले सरुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएपछि बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतकै हैसियतमा रहेका उपसचिव अजय बर्तौलाको अधिकार  मन्त्रालयले खोसिदिएको हो ।

मन्त्रालयले बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बर्तौलाको नाममा सञ्चालित खाता रोक्का गर्न पत्राचार गरेको हो ।मन्त्रालयले कात्तिक १३ गते कोष तथा लेखा नियन्त्रक कार्यालय, काठमाडौँलाई पत्र पठाउँदै बर्तौलाको नाममा सञ्चालन भइरहेको नगरपालिकाको खाता रोक्का गरी उनको स्थानमा खटाइएका उपसचिव विनोद कुँवरको मागअनुसार खाता सञ्चालनको व्यवस्था मिलाउन भनेको छ ।

मन्त्रालयले असोज ५ गतेको निर्णयबाट बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बर्तौलाको सरुवा गरिएको थियो । बर्तौलाले सरुवा विरुद्द प्रशासकीय अदालतमा निवेदन दिएका थिए । प्रशासकीय अदालतका अध्यक्ष डा. टेकबहादुर घिमिरे र सदस्य नवलकिशोर यादवको इजलासले असोज १५ गते सरुवासम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो। बर्तौलाको खडक नगरपालिका सप्तरीमा सरुवा भएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  २१:१७
प्रतिक्रिया दिनुहोस्