सङ्घीय निजामतीसहित २४ वटा विधेयक विचाराधीन, हिउँदे अधिवेशन कहिले ?

बुधबार, मंसिर २, २०८३

सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको र छिट्टै आह्वान गर्ने सरकारको लक्ष्य रहेको बताएकी छिन्।

प्रधानमन्त्री वालेन्द्र शाह यसै साता भारत भ्रमणमा जाने कार्यक्रम रहेकाले पनि अधिवेशन आह्वानको समयबारे तत्कालै निश्चित गर्न नसकिएको उनको भनाई छ । सरकारले आगामी अधिवेशनलाई लक्षित गर्दै कानुन संशोधन, नयाँ कानुन निर्माण तथा आवश्यक अध्यादेशबारे गृहकार्यसमेत अघि बढाएको छ।

“संसद अधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल गर्दैछौँ। छिट्टै बोलाउने लक्ष्य हो। अहिले कानुनहरूको समीक्षा पनि भइरहेको छ। यो हप्तामै के-के गर्नुपर्ने हो भन्ने स्पष्ट हुन्छ,” मन्त्री गौतमले भनिन्।

यस्तै, सरकारले घोषणा गरेको ‘कानुन निर्माण तथा सुधार वर्ष’ अन्तर्गत विद्यमान कानुनको समीक्षा, नयाँ कानुन निर्माण र आवश्यक कानुन संशोधन तथा एकीकरणलाई प्राथमिकतामा राखेको छ। यसका लागि गठित सुधार समितिको प्रत्येक १५ दिनमा बैठक बस्ने गरेको र सबै मन्त्रालयबाट प्रगति विवरण प्राप्त भइरहेको मन्त्री गौतमले जानकारी दिइन्।

सरकारले सम्बन्धित मन्त्रालयहरूसँगको छलफलका आधारमा एक वर्षमा १६६ वटा कानुन निर्माण तथा सुधार गर्ने लक्ष्य राखेको छ। दसैँअघि संसद्मा दर्ता भएका विधेयकहरूको प्रगति हेर्दा उक्त लक्ष्य हासिल गर्न सकिने विश्वास बढेको उनको भनाइ छ।

संसद् सचिवालय तयारी अवस्थामा

संसद् अधिवेशन आह्वानको संवैधानिक प्रक्रिया सरकारको सिफारिसमा राष्ट्रपतिबाट अघि बढ्ने भए पनि संसद् सचिवालयले भने अधिवेशन सञ्चालनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सदन सञ्चालनका लागि सचिवालय सधैँ तयारी अवस्थामा रहने भए पनि नयाँ संसद् भवनको प्रतिनिधिसभा सभाकक्षमा केही प्राविधिक तयारी बाँकी रहेको जानकारी दिए।

प्रतिनिधिसभातर्फको सभाकक्षको भौतिक पूर्वाधार तयार भइसकेको भए पनि प्रत्यक्ष प्रसारण, अडियो-भिडियो प्रणाली र नयाँ प्रविधिसँग सम्बन्धित काम पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहेको उनको भनाइ छ।

नयाँ सभाकक्षबाट युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्ने तयारी भइरहेको र त्यसका लागि प्राविधिक प्रणाली परीक्षण गर्नुपर्ने उनले बताए। नयाँ प्रविधिको प्रयोग हुने भएकाले सांसदहरूलाई त्यसबारे जानकारी दिन अभिमुखीकरणसमेत आवश्यक पर्न सक्ने उनको भनाइ छ।

“अधिवेशन आह्वान भइसकेपछि पनि सचिवालयलाई दुई-चार दिन समय आवश्यक पर्ने देखिन्छ। सांसदहरूलाई नयाँ प्रविधिबारे जानकारी दिन र त्यहाँ स्थापित प्रविधिको परीक्षण गर्नुपर्ने हुन्छ, त्यसको तयारीमा हामी छौँ,” गिरीले बताए।

संसद् सचिवालयका अनुसार हाल प्रतिनिधिसभामा सङ्घीय निजामतीसहित २४ वटा विधेयक विचाराधीन छन्। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैनन्।

संसद्को दोस्रो अधिवेशन (प्रतिनिधिसभा) र २१ औँ अधिवेशन (राष्ट्रिय सभा) का अवधिमा हालसम्म कुल १२ वटा विधेयक पारित भएका छन्।

दोस्रो अधिवेशन अन्त्य भएको दिनदेखि हालसम्म सात वटा नयाँ विधेयक दर्ता भएका छन्। तीमध्ये संशोधन विधेयकसमेत समावेश छन्। निजामती विधेयक समेत दर्ता भएको छ । सङ्घीय निजामती विधेयक आगामी हिउँदे अधिवेशनमा पास गर्ने सरकारी तयारी छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १९:११
प्रतिक्रिया दिनुहोस्