बियरको बोतललाई पुनः प्रयोगमा सहज बनाउन गोरखा ब्रुअरीको नयाँ अभियान

सोमबार, मंसिर २९, २०८२

गोरखा ब्रुअरी/कार्ल्सबर्ग समूहले बोतलको पुनः प्रयोग प्रक्रियालाई सहज बनाउने नयाँ अभियान अघि सारेको छ । ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ भन्ने मूल नारासहित खाली सीसीसँगको सहकार्यमा अभियान सुरु गरेको हो । यो अभियानले कम्पनीलाई जिम्मेवार ‘रिसोर्स म्यानेजमेन्ट’तर्फ उन्मुख गराउने जनाइएको छ ।

अभियानअन्तर्गत खाली सीसीले बार र रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका सिसाका बोतललाई व्यवस्थित रूपमा संकलन, छुट्ट्याउने र पुनः प्रयोगको प्रक्रियामा पठाउनेछ । यसले व्यावसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली तयार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यो मोडेलमार्फत व्यावसायिक क्षेत्रको जिम्मेवारी बढ्ने, बोतल व्यवस्थापन सुलभ हुने र पुनः प्रयोग गर्न सकिने गिलास ल्यान्डफिलसम्म नपुग्ने गरी उल्लेखनीय कमी आउने कम्पनीले जनाएको छ ।

“खाली सीसीसँगको सहकार्यले कुनै पनि बोतल बेवास्ता नहुने हाम्रो प्रतिबद्धतालाई व्यवहारमै उतारेको छ । व्यवस्थित पुनः प्रयोग समाधान उपलब्ध गराएर हामी ईएसजी लक्ष्यलाई थप मजबुत बनाउँदै छौँ र सफा–हरियो नेपाल निर्माणमा सहयोग पुर्‍याइरहेका छौँ,” गोरखा ब्रुअरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्