लगानीका नयाँ ठाउँ खोज्न गभर्नरले गरे बैंकरहरूलाई आग्रह

शुक्रबार, कात्तिक २८, २०८२

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई व्यवसायमा लगानी गर्न नहिच्किचाउन आग्रह गरेका छन्। 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले सीईओहरुलाई व्यावसायिक लगानी गर्न नडराउन भनेका हुन्। 

‘तराईमा बिचौलियाविना त लोन पनि पाइन्न भन्ने गुनासो छ। सीईओ धेरै ठूलो पोजिसन हो’, उनले भने, ‘बैंक भनेको व्यवसाय हो। बिजनेसमा इन्भेस्ट गर्नुस्, परेको सहयोग गर्छौँ। नयाँ उद्यमी खोज्नुस्।’

लगानीविना आर्थिक समृद्धि हासिल नहुने भएकाले राष्ट्रिय अर्थतन्त्रलाई बल पुग्ने गरी लगानी बढाउन उनले आग्रह गरे। ‘देशको ग्रोथ नभई तपाईंहरुको ग्रोथ हुँदैन। इकोनोमी ग्रोथ हुनुपर्छ’, उनले थपे, ‘आईटीमा लगानी गर्न मन छ? भन्नुस्। नयाँ क्षेत्र खोज्नुस्।’ 

सबै कुरा राष्ट्र बैंकलाई पनि थाहा नहुने भएकाले नीतिगत सुधारका कुराहरु भए स्पष्ट राख्न उनको आग्रह थियो। यसमा राष्ट्र बैंकले आवश्यक व्यवस्था गरिदिने पौडेलले उल्लेख गरे। 

‘हामीलाई थाहा हुँदैन। नीतिगत कुराहरु छन् भने भन्नुस्, सँगै काम गर्छौँ। राष्ट्र बैंकले तपाईंलाई लगानी गर्न सघाउँछ’, उनले भने।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्