सोसल मिडिया
युनिकोड
जेनजी आन्दोलनपछि आज पहिलो पटक खुलेको सेयर बजारमा तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ। ब्रेक लागेसँगै कारोबार आजका लागि स्थगित भएको छ।
दिनभर बजार ६ प्रतिशत घटेर नेप्से परिसूचक २५११ अंकमा झरेको छ भने कुल कारोबार ७२ करोड ८७ लाख रुपैयाँ मात्रै भएको छ।
सेयर बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घट्दा पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार स्थगित भयो। त्यसपछि खुलेको बजारमा थप १ प्रतिशत गिरावट आएपछि कुल ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो।
बजार १२:०४ बजे पुनः खुलेको अवस्थामा कुल ६ प्रतिशत गिरावट आएपछि तेस्रो सर्किट ब्रेक लागेर आजका लागि कारोबार स्थगित गरिएको हो।
नेप्से परिसूचकमा १६० अंकको गिरावट आएपछि कारोबार केवल ४ मिनेट मात्रै सञ्चालन भएको थियो।
व्यापार समूह सबैभन्दा धेरै ९.३४ प्रतिशतले घटेको छ। अन्य समूहहरूमा क्रमशः होटल तथा पर्यटन ७.२४, लगानी ७.१८, बैंकिङ ५.५२, विकास बैंक ५.१३, फाइनान्स ४.५२, हाइड्रोपावर ५.४०, जीवन बीमा ६.६६, उत्पादन तथा प्रशोधन ५.०२, माइक्रोफाइनान्स ४.०८ र निर्जीवन बीमा ५.४२ प्रतिशतले घटेका छन्।
आज १६ कम्पनीको शेयर मूल्य १० प्रतिशतसम्म घटेको छ। दुई पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स र नेपाल पुनर्बीमा पनि ठूलो गिरावटको प्रभावमा परेको छ।