अमेरिकी डलरको भाउ झन् उकालो लाग्यो, के कारण बढ्यो ?

बुधबार, साउन १४, २०८२

अघिल्लो सातासम्म स्थिर रहेको अमेरिकी डलरको भाउ फेरी बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक डलर बराबर १३९.२१ रुपैयाँ बिक्रीदर तोकेको छ । मंगलबार १३८.९७ रुपैयाँ थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत मुलुकलाई भन्सार दर बढाउने चेतावनी दिएपछि डलरको मूल्य उकालो लागेको हो ।

गत जेठसम्म १३६ रुपैयाँ आसपासमा रहेको डलर इरान र इजरायबीचको युद्धले बलियो बनेको थियो ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिका कारण गत माघमा डलरको मूल्य बढेर १४१ रुपैयाँ पुगेको थियो ।

डलरको भाउ बढेपछि उदीयमान मुलुकहरुलाई चिन्ता बढेको थपेको छ भने डलरसँग स्थानीय मुद्राहरु कमजोर भएका छन् । भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ । 

भारु कमजोर हुँदा नेपाली रुपैयाँमा पनि असर पर्ने गरेको छ । बुधबार एक डलर बराबर ८७ भारु पुगेको छ ।  भारुमा आउने उतारचढावले नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ ।  भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ । 

भारतमा डलर सञ्चिति बढेर सात खर्ब डलर पुगेको छ । नेपालमा १८ अर्ब ६५ करोड डलर सञ्चिती रहेको छ ।  डलर बलियो हुँदा आयातित वस्तु थप महँगो हुने देखिन्छ भने आयातित कच्चा वस्तुको भाउ बढेर उद्योगको उत्पादन लागत बढ्नेछ । 

विश्वमा ८० प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ ।  अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ । 

डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ । यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन् भने रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्रा सञ्चिति वृद्धिमा थप सघाउ पुग्ने गरेको छ । रेमिट्यान्स आप्रवाह गत आर्थिक वर्षको ११ महिनामा १५.५ प्रतिशत वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

विदेशी मुद्रा सञ्चितिले नयाँ रेकर्ड राखेको छ । राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशत बढेर गत जेठमा २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । नेपालसँग १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति छ ।

यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ । विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउछन् ।

यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ । डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ ।  यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ ।

अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ । नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ ।  विश्व बैंकले ब्याज दोब्बर बढाएकाले आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिने भएको छ । 

आगामी आर्थिक वर्षमा सरकारले तीन खर्ब ७५ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ । गत वर्ष सरकारले तीन खर्ब २० अर्ब रुपैयाँ ऋण तिरेको छ । विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ । लाभांश लैजानेलाई फाइदा हुनेछ ।

विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्नेछ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्