साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द

बिहीबार, साउन ८, २०८२

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । अघिल्ला ७ कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज आठौँ दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

बिहीबार नेप्से परिसूचक ३.७६ अङ्क बढेर २९८२.६४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.३१ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.२८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अङ्क बढेको छ ।

नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार १९ अर्ब ५७ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३२८ स्टकको १ लाख ५४ हजार ६४२ पटकको कारोबारमा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको ३ करोड ८९ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भि इनर्जी र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, हिमालयन हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने माया खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । कारोबारमा आएको ९.५ प्रतिशत मञ्जुुश्री फाइनान्स लिमिटेड डिबेञ्चर २०८५ को मूल्य सर्वाधिक ४.२२ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७७ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, ङादी ग्रुप पावरको करिब ७२ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने ग्रीन भेन्चर्सको कारोबार रकम ६६ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैङ्क उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्