गोरखा ब्रुअरीको नेपालमै पहिलोपटक ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान

बिहीबार, साउन ८, २०८२

गोरखा ब्रुअरी प्रालिले नेपालमै पहिलोपटक ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेको छ । कम्पनीले नेपालमा रेस्पोन्सिबल ड्रिंकिङ र सफर मोबिलिटी संस्कृतिको प्रवर्द्धन गर्न नेपालको राइड-हेलिङ प्लेटफर्म पठाओसँग सहकार्य गरेर उक्त अभियान सुरु गरेको हो ।

उक्त अभियानमार्फत सामाजिक जमघट- विशेषतः रात्रिकालीन स्थलहरूमा सहभागी हुने व्यक्तिहरूलाई मद्यपानपछिको यात्रा सुरक्षित बनाउन पठाओजस्ता सेवाको उपयोग गर्न प्रेरित गरिने बताइएको छ । ‘ड्रिंक एन्ड ड्राइभ’ विरुद्ध सचेतना फैलाउँदै दीर्घकालीन जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान सुरु गरिएको कम्पनीको भनाइ छ ।

गोरखा ब्रुअरीका मार्केटिङ डाइरेक्टर रोजन अमात्यले भने, 'यो अभियान केवल सन्देश मात्र होइन, चेतना र सोचमा रूपान्तरण ल्याउने प्रयास पनि हो । सामाजिक उत्तरदायित्वप्रति हाम्रो गहिरो प्रतिबद्धता र स्थानीय सहकार्यबाट सकारात्मक प्रभाव सिर्जना गर्न सकिन्छ भन्ने एउटा उदाहरण हो ।'

‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियानको प्रारम्भिक चरण काठमाडौं उपत्यकामा सञ्चालन हुने बताइएको छ । पठाओको डेटा–आधारित सञ्चार संयन्त्रमार्फत सामाजिक तथा मनोरञ्जनका क्षेत्रहरूमा लक्षित सन्देश प्रवाह गरिनेछ, जसले प्रभावकारी रूपमा जिम्मेवार मद्यपानबारे सचेतना फैलाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०७:३८
प्रतिक्रिया दिनुहोस्