मुख्यसचिव र सचिवको टाउको दुखाई ‘बिसेक’ पार्न कांग्रेसको आग्रह, कर्मचारी बोक्यो

बिहीबार, जेठ २९, २०८२

कर्मचारीका माग सम्बोधन गर्न कांग्रेसको राज्य प्रशासन विभागले अर्को माग गरेको छ। विभागले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा कर्मचारीका माग सम्बोधन गर्न अनुरोध गरेको हो। 

तीनै तहका कर्मचारीका माग सम्बोधन गरेर विधेयक जारी गर्न सम्झाएर उक्त विभागले विज्ञप्ति जारी गरेको हो। समितिको बैठकका निर्णय सार्वजनिक गर्न पार्टी केन्द्रीय सदस्य तथा विभाग प्रमुख गोविन्द भट्टराईले आज विज्ञप्ति जारी गर्दै तीनै तहका कर्मचारीको माग पूरा गरेर विधेयक जारी गर्न माग गरिएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतीले विधेयक पारित गरेको थियो । विधेयकमा अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको थियो । यी दुई विषयमा विवाद रहँदै आएको थियो । 

अहिले पनि निजामती कर्मचारी संगठनहरूले यी प्रावधान हटाउन माग गर्दै आएका छन् । मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूले हुल बाधेरै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर सच्याउन माग गरेका थिए । कुलिंग पिरियडको व्यवस्थाले उच्च प्रशासकको टाउको दुख्या दुख्यै छ। 

सदन अवरोध भएका कारण विधेयकले प्रतिनिधिसभाको अनुहार देख्न पाएको छैन। विधेयकको विरोध गर्दै सबै तहका कर्मचारी आन्दोलित छन्। 
 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्