निलम्बित सहसचिव परियारले अदालती  प्रक्रियाको सम्मान गर्ने, नबिराएको दाबी

बिहीबार, जेठ २९, २०८२

नेपाल सरकारका निलम्बित सहसचिव प्रदीप परियारले पेशागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको बताएका छन्। काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा बुधबार मुद्दा दायर गरे संगै उनी निलम्बित भएका छन्। 

सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले परियार सहित ७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। परियारसहित सातैजनाविरुद्ध जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसा बिगो कायम गरिएको छ।

उनी वि.सं. ०८० माघ ५ गतेदेखि ०८१ भदौ २७ गतेसम्म काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहे । उनी महानगरमा केबल ७ महिना मात्रै टिक्न सके । त्यसपछि २०८१ भदौ २७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा गरियो । उनी ३२ वर्षको उमेरमा सहसचिव भएकाले उनलाई कान्छा सहसचिवका रुपमा चिनिने गरेको छ।  सहसचिव भएको तीन वर्षमै उनले मुद्दा खेप्नु परेको हो। 

मुद्दा दायर भएको भोलिपल्ट बिहिबार सामाजिक सञ्जाल मार्फत परियारले सम्मानित अदालतबाट न्याय प्राप्त हुने विश्वास गरेका छन्। उनले लेखेका छन्- मैले मेरो पेशागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको छु। अहिले प्रश्न उठेकाले मैले अदालती  प्रक्रियाको सम्मान गर्दै सोको विधिसम्मत रूपमा सामना गर्नेछु। सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्