विद्यालय शिक्षा विधेयक कहिले हुन्छ पास ? दशैं अगाडि ऐन आउने सम्भावना

बुधबार, जेठ २८, २०८२

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिने तयारी भएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शुक्रबारसम्म सबै सरोकारवालासँग छलफल सक्ने योजना बनाएको छ। 

जेठ ३१ गते शनिबार समिति बैठक डाकेर विधेयक पास गर्ने तयारी भएको हो। समितिले विधेयक पास गरेपछि प्रतिनिधिसभाको बैठकमा पेस गर्नुपर्छ। 

निजी विद्यालय र प्रारम्भिक बाल विकास (ईसीडी) सम्बन्धी सरकारको स्पष्ट धारणा नआएका कारण विधेयकले अन्तिम रुप पाउन ढिलाई भएको श्रोतको दाबी छ। 

सरकार र नेपाल शिक्षक महासंघबीच १७ वैशाखमा भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक असार १५ मा प्रतिनिधिसभामा पुर्‍याउनुपर्ने  भएकाले पनि समिति र सरकार दुवै दबाबमा छन्। तर असार १५ गते भित्र विधयेक पास हुने सम्भावना भने छैन। संसदको चालु अधिवेशनमा बिधेयक पेस भए अर्को अविधेशनले पास गर्न सक्ने सम्भावना छ। त्यो भनेको दशैँ अगाडी हो। 

यता, शिक्षक महासंघले तोकिएको म्यादभित्र ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। गत २० चैतदेखि २९ दिनसम्म काठमाडौँमा आन्दोलन गरेका शिक्षकहरूले १७ वैशाखमा असार १५ मा  विधेयक संसद् पुर्‍याउने सहमतिपछि आन्दोलन स्थगित गरेका थिए। यस्तै अवस्था रहे शिक्षकहरू फेरि सडक आन्दोलनमा निस्कनु पर्ने हुन सक्छ। 
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्