बढ्यो नेप्से, कति भयो कारोबार ?

मंगलबार, जेठ २७, २०८२

मङ्गलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक २५.०७ अङ्क बढेको छ । बजार बढेसँगै नेप्से २६७८.१७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.०५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.६८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अङ्क बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ८ अर्ब ६८ करोडको सेयर खरिदबिक्री भएको बजारमा मङ्गलवार ३११ स्टकको ८१ हजार ७३८ पटकको कारोबारमा १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड ३६ लाख ९७ हजार कित्ता सेयर  खरिदबिक्री भएको छ ।

मङ्गलवार दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, समृद्धि फाइनान्सको सेयर मूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने जानकी फाइनान्सको सेयर मूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक ६।१४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ४९ लाख ५३ हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ । त्यस्तै, अरुण काबेली पावरको ५३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको साढे ४६ करोडको सेयर किनबेच भएको छ।

मङ्गलवार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१२ प्रतिशत बढेको छ । त्यसैगरी, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्