निजीक्षेत्रको अग्रणी नबिल बैंकको तालाचाबी मनोज ज्ञवालीलाई बुझाईयो

शुक्रबार, जेठ २३, २०८२

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

ज्ञवाली यसअघि कायममुकायम सीईओको भूमिकामा थिए । ज्ञवाली बैंकिङ क्षेत्रमा स्पष्ट वक्ताका रूपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रहेर बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेका छन् । 

सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा काम गरेको २६ वर्ष लामो अनुभव छ । 

यस्तै, समितिको बैठकले नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ । प्रमुख कानुन विभागका भिष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी पनि बैठकले दिएको छ । 

नबिल बैंक नेपालको निजीक्षेत्रको अग्रणी बैंक हो । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्