सोसल मिडिया
युनिकोड
लगानी बोर्डले विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउन ५७ अर्ब ६४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बोर्डले केबलकारको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार (जेठ २२) सिंहदरबारमा बसेको बोर्डको ६४औँ बैठकबाट मुक्तिनाथको लगानी र डीपीआर एकसाथ स्वीकृत गरिएको हो ।
योसँगै केबलकार परियोजना अघि बढाउन मुक्तिनाथ दर्शन प्रालिलाई बाटो खुलेको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) भने स्वीकृतिको प्रक्रियामा छ ।
बैठकबाट विकासकर्ता मुक्तिनाथ दर्शनसँग परियोजना विकास सम्झौता (पीडीए) मस्यौदा तयारीका निम्ति वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ । केबलकार सञ्चालनमा आएमा स्थानीयस्तरमा ठूलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथले अद्यावधिक डीपीआर ०८० पुसमा लगानी बोर्डमा बुझाएको थियो । प्रस्तावित केबलकारको लम्बाइ ८१ किलोमिटर लामो हुनेछ । मुक्तिनाथ केबलकार बने विश्वकै सबैभन्दा लामो हुनेछ ।
केबलकार बनाउन यसअघि ५५ अर्ब १८ करोड रुपैयाँ लाग्ने अनुमान थियो । काम सुरु गरेको पाँच वर्षभित्र केबलकार सञ्चालन गर्ने योजना मुक्तिनाथको छ ।
भारतको हैदराबादस्थित के एन्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना बनाउनुका साथै लगानी समेत गर्नेछ । इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रयाक्ट र लगानी (ईपीसीएफ) खाकामा केबलकार परियोजना बनाउन विकासकर्ता मुक्तिनाथ र के एन्ड आरबीच ०८० असोज १७ गते प्रारम्भिक सम्झौता भएको थियो । पूर्ण लगानी सम्झौता हुन बाँकी छ ।
६ महिनाभित्र ईआईए र डीपीआर स्वीकृत हुने गरी के एन्ड आरसँग प्रारम्भिक सम्झौता भएको थियो । डीपीआर र ईआईए स्वीकृतिमा ढिलाइ भएकाले के एन्ड आरको लगानी ‘होल्ड’ भएको छ ।
त्यति बेला के एन्ड आरले केबलकार परियोजना बनाउनुका साथै अपरिवत्र्य मुद्रामा लगानी गर्ने विषयमा प्रारम्भिक समझदारी भएको थियो । समझदारीअनुसार, कुल रकमको ८० प्रतिशत अर्थात् ४४ अर्ब रुपैयाँ के एन्ड आरले लगानी गर्नेछ । दुई प्रतिशत आयोजना प्रभावित स्थानीय, सात प्रतिशत सर्वसाधारण र ११ प्रतिशत संस्थापकको स्वपुँजी लगानी गरिनेछ ।
ईपीसीएफ मोडेलबाट बनाउन लागिएको मुक्तिनाथ मुलुककै पहिलो ठूलो परियोजना हो । १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशय आयोजना पनि यसअघि ईपीसीएफ खाकामा बनाउने तयारी थियो । सरकारले ठूला परियोजना ईपीसीएफ मोडेलबाट बनाउने नयाँ वित्तीय खाका ल्याइसकेको छ । यद्यपि, कार्यान्वयन हुन बाँकी छ ।
केबलकारमा ‘टप टु बटम’ १९ स्टेसन बनाउन प्रस्ताव गरिएको छ । यीमध्ये आठ स्टेसनमा अनिवार्य ओर्लनुपर्ने व्यवस्था हुनेछ । पाँच स्टेसनमा अत्यावश्यक भए मात्र ओर्लन पाइनेछ । अरू ११ स्टेसनमा बास बसेर जान पाइने कम्पनीले जनाएको छ ।
कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारमा ७७६ गोन्डोला (बस्ने ठाउँ) राखिनेछ । केबलकार परियोजना एक हजारदेखि तीन हजार ७०० मिटर उचाइसम्म पुग्नेछ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने मुक्तिनाथले जनाएको छ ।
विकासकर्ता मुक्तिनाथका अनुसार, केबलकारको पहिलो स्टेसन कास्कीको वीरेठाँटीमा बनाउने प्रस्ताव छ । दोस्रो स्टेसन घोडेपानी (वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर)मा, तेस्रो तातोपानी (घोडेपानी–तातोपानी १२.७३ किलोमिटर)मा, चौथो लेते (तातोपानी–लेते १६.४४ किलोमिटर)मा, पाँचौँ जोमसोम (लेते–जोमसोम २३.९२)मा, छैटौँ कागबेनी (जोमसोम–कागबेनी ८.२४)मा र सातौँ स्टेसन रानीपौवा (कागबेनी–रानीपौवा मुक्तिनाथसम्म नौ किलोमिटर)मा रहनेछ ।
त्यसमा वार्षिक ३६ लाखजनाले यात्रा गर्ने अनुमान छ । केबलकार सञ्चालनमा १३ मेगावाट बिजुली खपत हुने जनाइएको छ ।