सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र साहलाई म्यासेज पठाएपछि प्रहरीको केरकारमा पर्दै खाईपाई आएको अड्डाबाट जगेडामा थान्को लगाईएका सचिव कृष्णहरि पुस्करले काम गर्दै आएको अड्डामा सचिव चन्द्रकला पौडेललाई खटाईएको छ। उनलाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा धपाईएको हो। भूमि व्यवस्थामा मदन भुजेल सचिव छन्।
सिन्धुली घर भए सचिव भूपाल बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवबाट थुतेर गण्डकी प्रदेशको प्रमुख सचिव बनाईएको छ। गण्डकीका प्रमुख सचिव डुण्डुराज घिमिरे भ्रष्ट्राचार मुद्दा लागेर निलम्बनमा परेका छन्। घिमिरे निलम्बनमा रहेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।
सरकारले दुई सचिव रहेका मन्त्रालयलाई एकलमा झारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उर्जा हेर्ने सचिव चिरन्जीवी चटौतलाई पनि बाटो लगाईएको छ। उनलाई नेपाल ट्रस्टमा पठाईएको छ। उर्जामा अब सरिता दवाडी मात्रै सचिव हुनेछिन्।
त्यस्तै,सार्वजनिक खरिदका हरिप्रसाद मैनालीलाई प्रधानमन्त्री कार्यालयको जगेडा,स्वास्थ्यका डिल्लीराम शर्मा,युवा खेलकुदका लोकनाथ पौडेल,वनका गोविन्द शर्मालाई पनि प्रधानमन्त्री कार्यालय नै लगिएको छ । लोकनाथ घर जान ठिक्क परेका सचिव हुन्।
चार सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा दश जना सचिव थुपारिएका छन्। तीन जना महिलाले मन्त्रालयको सचिव भएर काम गरिरहेका छन्। सूचना तथा सञ्चार मन्त्रालयमा लक्ष्मी कुमारी बस्नेत, उर्जामा सरिता दवाडी, महिलामा राधिका अर्याल सचिव रहेका छन्। महिला नै मन्त्री र सचिव भएको मन्त्रालय चाँही महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय भएको छ। जहाँ सीता बादी मन्त्री छन्। नेपाल ट्रस्टको कार्यालयमा रहेकी प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।