निजामती सेवा संशोधन नियमावली स्वीकृत गर्ने सहितका यस्ता छन् क्याबिनेटका निर्णय

मंगलबार, जेठ २६, २०८३

सरकारले चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार, तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको हो। 

यस्तै, मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासन मन्त्रालयबाट आएको निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८३ लाई स्वीकृत गरेको छ। निजामती सेवा निमावलीको १६ औं संशोधन स्वीकृत भएपछि निजामती कर्मचारीहरुको ट्रेड युनियन अधिकार नियमावलीबाट पनि खारेज भएको छ। अध्यादेशमार्फत सरकारले खारेज गरेपछि कर्मचारी अदालत पुगेका थिए। सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो। 

यससँगै नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए। रेडक्रसमा लामो समयदेखि विवाद हुँदै आएको छ। 
 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १२:४२
प्रतिक्रिया दिनुहोस्