ब्रतकै दिन बालेनलाई म्यासेज ठेल्ने पुष्करले पाए पुरस्कार, स्वागत गर्ने पौडेल पनि थपिए

शनिबार, जेठ २३, २०८३

सकेसम्म मुख्यसचिव कथं त्यो सकिएन भने राजदूत चाँही पक्का है भन्ने बान्कीको म्यासेज प्रधानमन्त्री बालेनलाई ठेलेपछि तनाबको खान्की खाएका सचिव कृष्णहरि पुष्कर जगेडामा कोचिएका छन् ।

बिहिबारको ब्रतको दिन साईतमै बालेनलाई म्यासेज पठाएका उनले त्यसबापत सात घण्टा प्रहरीको केरकारमा पर्नुमात्र परेन पिएचडी गरेका पुष्करले ल्याप्चे समेत हान्नुपर्यो । गृहसचिव बन्ने बाटोमा काँडेतार लागेपछि देखि पुष्करले विहिवारे ब्रत थालेका हुन् ।

विवादमा परेका चलखेल सचिव डा. पुष्करसहित पाँच जना सचिवलाई बालेन सरकारले जगेडामा कोचेको छ ।

गत मंगलबारको मन्त्रिपरिषद्‌को बैठकबाट सचिवहरूको पदस्थापन गर्ने निर्णय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । मन्त्रिपरिषद्को सोही बैठकको निर्णयका आधारमा शुक्रबार पाँच जना सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सरुवा गरी अतिरिक्तमा राखिएको हो ।

उपराष्ट्रपति कार्यालयका सचिव पुष्करसहित सचिवहरू लोकनाथ पौड्याल, डिल्लीराम शर्मा, हरि मैनाली र गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सरुवा गरिएको हो । वन तथा वातावरण मन्त्रालय कृषि मन्त्रालयमा गाभिएका कारण तत्कालीन वन मन्त्रालयका सचिव गोविन्द शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेर्ने जिम्मा दिने निर्णय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । बाँकी सचिवहरूको भने जिम्मेवारी तोकिएको छैन ।

यसअघि मैनाली सार्वजनिक खरिद अनुगमन कार्यालयमा, पौड्याल युवा तथा खेलकुद मन्त्रालयमा र शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको रूपमा कार्यरत थिए । यी मन्त्रालयहरू खारेजी र गाभिने निर्णयमा परेका कारण मन्त्रालयहरूको नाम परिवर्तन भएको थियो ।

विज्ञान प्रविधि तथा नवप्रवर्द्धन मन्त्रालयको सचिवका रूपमा प्रमिला बज्राचार्यलाई सरुवा गरिएको छ ।

जगेडामा राखिएका लोकनाथ बालेन मेयरमा निर्वाचित भएर महानगर पुग्दा प्रमुख प्रशासकीय अधिकृत थिए। उनैले बालेन्द्रलाई स्वागत गरेका थिए। 

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  ११:३८
प्रतिक्रिया दिनुहोस्