सुगाका ‘सुरिला’ सचिव पुष्करको चर्तुविद्यामा बालेन्द्र कसरी बनिदिए ब्रेकर ?

शुक्रबार, जेठ २२, २०८३

निजामती सेवामा रहेर आकर्षक र रोजाईकै अड्डामा पुगेर जागिर खान खप्पीस सचिव कृष्णहरि पुष्कर कर्णलाई प्रधानमन्त्री बालेन्द्र शाहले ब्रेक लगाईदिएका छन् ।

महोत्तरीको सुगामा जन्मिएका पुष्करले महोत्तरीकै एकडारा पुर्ख्यौली थलो भएका बालेन्द्र शाहलाई तारन्तार म्यासेज गरेपछि गृहमन्त्री समेत रहेका बालेन्द्रले पुष्करलाई समात्न आदेश दिएका थिए । बिहिबार समातिएका पुष्कर सात घण्टापछि कागजमा ल्याप्चे हानेर रिहा भएका छन् ।

उपसचिव हुँदा देखिकै जागिर खान सिपालु उनी जेनजी आन्दोलनपछि भने भुत्ते हुँदै गएका थिए । र, पछिल्लो पटक उनको जागिरे चर्तुविद्याले काम गर्न छोडेको हो ।

अहिलेका एमाले सांसद मोहम्मद इस्तियाक राई झलनाथ खनाल प्रधानमन्त्री हुदाँ श्रम मन्त्री थिए। त्यो बेला पुष्कर श्रम मन्त्रालयमा उपसचिव थिए। त्यहीवेला देखि फष्टाएको पुष्करको खेलोमेलो अहिले आएर प्रहरी अड्डामा कागज गर्नुपर्ने ठाउँमा पुगेको छ ।

कोटामा उक्लिदै सचिव भईखाएका पुष्कर निजामतीका नमूना पात्र हुन् । तत्कालिन श्रम मन्त्री राईलाई खुशी पारेर दक्षिण कोरियाको श्रम सहचारी पड्काएका पुष्कर त्यतिवेलै सहसचिव भएका थिए । ऊ बेला अख्तियारका चल्तापूर्जा प्रमुख लोकमान सिंह कार्कीको दौराको फेर समातेर धेरैलाई दुःख दिएका कर्ण अहिले प्रहरीका सामुन्ने उभिएर आफैं निरिह बन्नुपर्ने ठाउँमा पुगेका छन् ।

जो सत्तामा आयो उसैको प्यारो भईखाएका पुष्करका लागि अघिल्लो सुशीला सरकार र वर्तमान बालेन्द्र सरकार भने द्रेब्रे देखिएको हो । सहसचिव हुदाँ टल्किएका जति सबै अड्डा भ्याएका पुष्करले सचिव बढुवा भएपछि प्रदेश जानै परेन । आफूले जानेको चर्तुविद्याको प्रयोगले प्रदेश नगएरै सोझै अर्थ मन्त्रालयको राजस्व सचिव पड्काए । अर्थ सचिव हुँदै सामान्य सचिव भएका पुष्करले आफ्नो अलग्गै टीम नै बनाएका थिए । श्रम सचिव भएका उनको ऊ बेलाका मन्त्री सरद सिंह भण्डारीसँग टसल परेको थियो । महोत्तरीका भण्डारीको हुर्मत लिन हौसिएका कर्ण अहिले महोत्तरीकै प्रधानमन्त्रीको फेला परेका हुन्।

प्रचण्ड पुत्री गंगा दाहालसँग हिमचिम मिलाएर गृहसचिव हुन अनेकै गरेपनि प्रचण्ड सरकार ढलेपछि उनी लत्रिएका थिए । त्यसपछि पनि गृहसचिव हुन उनले अनेकै जुक्ति लगाए । भारतीय दुताबासको फन्को मराईले पनि काम गरेन । त्यसपछि मुख्यसचिव हुन उनले गरेका कृत्यको हजार जिब्रा भएका शेषनागले पनि वर्णन गर्न सक्दैनन् । यस्ता सिपालु कर्ण घर जानु एक महिना अघि सम्म मुख्य सचिव सपना देखिरहेकै छन् । तर, उनको सपनामा प्रधानमन्त्री स्वंयम्‌ले तातोपानी खन्याईदिएका छन् । कर्ण सचिवको पाँच बर्षे कार्यकाल सकेर असार २३ गतेदेखि घर जाँदैछन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  ०९:२२
प्रतिक्रिया दिनुहोस्