सोसल मिडिया
युनिकोड
कार्यशैली सुधार्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेको आरोप लगाउँदै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयका सचिव सरिता दवाडीलाई सरुवा गराएका छन्।
मन्त्री श्रेष्ठकै चाहनाबमोजिम बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव दवाडीको सरुवा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले सचिव दवाडीलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ। नेपाल ट्रष्टको कार्यलयमा हाल सचिव (कार्यकारी) पद रिक्त छ।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार मन्त्री श्रेष्ठले दवाडीलाई आफ्नो कार्यशैली सुधार गर्न पटकपटक आग्रह गर्दै सरकारको स्पिरिट अनुसार काम गर्न निर्देशन दिएका थिए।
तर, उनका केही निर्णय प्रति मन्त्री श्रेष्ठ असन्तुष्ट बने। पछिल्लो पटक मन्त्रालय मातहतका निकायहरूमा हुने सरुवालाई लिएर मन्त्री श्रेष्ठ सचिव दवाडीसँग रुष्ट बनेका थिए।
मन्त्रालय मातहतको सिंचाई विभागलगायतका निकायमा केही समयअघि भएका सरुवामा आर्थिक चलखेल भएको भन्दै सचिव दवाडीको नामसमेत मुछिने गरी मन्त्री श्रेष्ठसम्म प्रमाण पुगेको स्रोतले बतायो।
‘मन्त्रीज्यूले सचिवज्यूलाई आफ्नो कार्यशैली बदल्न र पछिल्लो समय उहाँविरुद्ध आइरहेका टिकाटिप्पणी त्यति सुखद थिएन। मन्त्रीज्यूले सचिवज्यूलाई पटकपटक मौका दिनु नै भएको हो। तर, सुधार हुनुको साटो त्यसको बाछिटा मन्त्रीसम्म नै पुग्ने जोखिम बढेपछि उहाँको सरुवा गर्ने अवस्था बनेको हो। केही कर्मचारीले समेत उनको कैफियत देखाउँदै उजुरी गरेका छन्’, मन्त्रालयका एक कर्मचारीले भने।
सचिव दवाडीले मन्त्रीका केही विश्वासपात्रलाई समेत गुमराहमा पारेर सरुवामा चलखेल गरेको थाहा पाएपछि मन्त्री श्रेष्ठ उनीसँग रुष्ट बनेका थिए। मन्त्री श्रेष्ठले समेत त्यो सरुवा टार्न सकेनन्। स्वार्थप्रेरित सरुवाबारे प्रमाण नै भेटिएपछि बुधबारको मन्त्रिपरिषद् बैठकले दवाडीको सरुवा गराएको छ।
ऊर्जा मन्त्रालयबाट दवाडीको सरुवा भएपनि नयाँ सचिव ल्याइएको भने छैन। ऊर्जा मन्त्रालयमा प्राविधिक तर्फको सचिवको दरबन्दी रहेकाले उपयुक्त पात्र केही समय लगाएरै खोज्ने भन्दै सरकारले कसैलाई त्यहाँ लगेको छैन।
‘कामु सचिवको जिम्मा पनि दिइएको छैन। केही समय हामी बुझ्छौं। त्यसपछि मात्रै को ल्याउने हो त्यसैअनुसार डिसिजन गर्ने तयारी छ। हतारमा कुनै निर्णय गरेर पछुताउनुभन्दा केही समय पर्खिने मुडमा छौं। कार्यसम्पादनमा असर नपर्ने गरी छिटै निर्णय लिएर सचिव ल्याउँछौं’, ऊर्जामन्त्री निकट एक अधिकारीले भने।
स्रोतका अनुसार सार्वजनिक खरिद अनुगमनका सचिव विश्ववावु पुडासैनी र विज्ञान प्रविधि मन्त्रालयका सचिव दीनानाथ मिश्र मध्ये एकजना उर्जा सचिव बन्नेछन् । मुख्यसचिव गोविन्द कार्कीले भने पुडासैनी उर्जा सचिवमा उपर्युक्त हुने राय मन्त्री श्रेष्ठलाई दिएका छन् ।