सरकारलाई दोष लगाउने कोषको मन्त्रालयले समायो कठालो, अब टिमुरेमा शव गोठालो

आइतबार, भदौ १४, २०८३

विपद्का बेला प्राकृतिक प्रकोप तथा महामारीमा शव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सामाजिक सञ्जालमा स्टाटस् लेखेका कोसीका सह-सचिवलाई बाढीग्रस्त टिमुरे क्षेत्रमा खटाइएको छ। 

कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव (सह–सचिव) कोषहरि निरौलालाई स्टाटस् लेखेको भोलिपल्टै बाढी प्रभावित क्षेत्र रसुवा खटाइएको हो। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १४ गते मन्त्रिस्तरीय निर्णय गर्दै  निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भई शव व्यवस्थापन, खोज तथा उद्धारको काम गर्न काजमा खटाएको जनाएको छ। 

कोसी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव निरौलाले कोभिड–१९ महामारीका बेला मोरङको प्रमुख जिल्ला अधिकारी रहँदाको अनुभव शनिबार सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उनले आफ्नो अनुभव पोस्ट गर्दै विपदमा शव व्यवस्थापन गर्दा मृतक तथा तिनका आफन्तको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजको सम्मान गरिनुपर्ने धारणा राखेका थिए। 

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि आफन्त गुमाएकाहरूको पीडालाई सम्बोधन गर्दै शव व्यवस्थापनमा हतार गर्न नहुने र आफन्तको भावनामा चोट पुग्ने काम गर्न नहुने उनको सुझाव थियो। 

फेसबुकमा लेखेको भोलिपल्ट काजमा कोसीबाट टिमुरे खटाइएको हो। यद्यपि, मन्त्रालयबाट काजको निर्णय भएपछि उनले स्ट्याटस भने हटाइसकेका छन्। 

संघीय मामिला मन्त्रालयका सहसचिव धोलकराज ढकालद्वारा हस्ताक्षरित पत्रमा भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै अनुभवी कर्मचारी खटाउनुपर्ने भएकाले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि टिमुरे क्षेत्रको शव व्यवस्थापनमा खटाइएको उल्लेख छ। 

निरौलालाई रसुवाको टिमुरे क्षेत्रलाई मुख्य कार्यक्षेत्र बनाई जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गरेर कार्यसम्पादन गर्न भनिएको छ। उनको सेवा सुविधा भने आर्थिक मामिला तथा योजना मन्त्रालय, कोसी प्रदेशबाटै भुक्तानी हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि काज खटाइएको पत्रमा उल्लेख छ। उनी रसुवा छेवैको नुवाकोटमा सिडिओ भईसकेका सरकारी अधिकारी हुन् ।787795879_27801679772847255_7645367009357877226_n-1788095005.jpg

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १८:५०
प्रतिक्रिया दिनुहोस्