सोसल मिडिया
युनिकोड
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आधा दर्जन भन्दा बढी सचिवको सरुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लगेर त्यहाँका दीपक काफ्लेलाई राष्ट्रपति कार्यालय पठाइएको छ। धनकुटाका काफ्लेलाई राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनील थापाको सिफारिशमा त्यहाँ लगिएको हो। सुनील पनि धनकुटाकै हुन्।
त्यस्तै, राष्ट्रपति कार्यालयका सचिव डा. रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य) मा सरुवा गरिएको छ भने त्यहाँका सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ। भोजपुरे कार्की बागमती प्रदेशको प्रमुख सचिव हुँदै वाणिज्य आएका थिए।
उता, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगको सचिवमा सरुवा गरिएको छ। रक्षा सचिव बाट वित्त आयोग पुगेका पर्वतका शर्मा मालदार मानिने लेकसेवा पुगेका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय(प्रशासनतर्फ)का सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ। यी दुवै ठाउँमा सचिव रिक्त थियो।
त्यस्तै बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थ र लोक सेवा आयोगका सचिव डिल्लीराम शर्माको सरुवा भएको छ भने अर्को एक सचिवलाई यताउता पार्ने र त्यसलाई मुख्यसचिवले प्रमाणीकरण गर्न बाँकी रहेको बुझिएको छ।