पूर्व गृहमन्त्री सिटौलाले वर्तमान गृहमन्त्री लेखकलाई लगाए टेको

आइतबार, जेठ ११, २०८२

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् । 

आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने समेत बताए । 

यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए । 

“विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकोले राजीनामा दिएको भए पनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्छ,” उनले भने । 

उनले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह आवश्यक नभएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संसोधन आवश्यक भएको बताए । 

सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने उल्लेख गरे । “प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति समेत आवश्यक नभएको तथा नेपालका लागि संघीय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था भएकाले संविधान संशोधन गरेर थप परिमार्जित गर्नुपर्छ,” उनले भने । 

त्यस्तै, सिटौलाले २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दसैँ आसपासमा महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्