पूर्वराष्ट्रपति भण्डारी किन उक्लिदैछिन् उत्तर ? शनिवार सबेरै चीन उड्ने

मंगलबार, जेठ ६, २०८२

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकार र दलभित्र विवादित भइरहँदा सक्रिय राजनीतिमा फर्कन इच्छा देखाएकी पूर्वराष्ट्रपति विद्या भण्डारी एक साता लामो चीन यात्रामा जाने भएकी छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा आगामी शनिबार बेइजिङतर्फ जान लागेकी भण्डारीको राष्ट्रपति सी जिनपिङलगायत उच्चस्तरीय नेताहरूसँग भेटघाट हुने अनुमान गरिएको छ। नेपालमा वाम एकता या सहकार्यमा चासो देखाउँदै आएको यो चीन यात्रालाई उत्तरको थप सक्रियताका रुपमा हेरिएको छ।

खासगरी एमाले र माओवादीबीचको एकता तथा सहकार्यलाई प्रोत्साहित गर्दै आएको चीनले उपल्लो तहबाटै यसका लागि भण्डारी तथा माओवादीका वर्षमान पुनसँग सम्पर्क बढाएको स्रोत बताउँछन्। ओलीको बढ्दो अलोकप्रियता र विवादित छविपछि नेपालमा चासो बढाएको चीनले विद्या भण्डारीमा स्वीकार्य वाम नेतृत्व क्षमता देखेको पनि उनीहरूको विश्लेषण छ।

भण्डारीले आफू एमालेमा फर्केर नेतृत्व लिने चाहनालाई विगत केही समयदेखि सार्वजनिक रुपमै दोहोर्‍याइरहेकी छन्। चीनले उनलाई झण्डै ६ महिनाअघि नै निम्तो दिएको भए पनि पार्टीको सुझावमा यसलाई थाँती राख्दै आएकी थिइन्।

तर, ओली नेतृत्वको अनिश्चितता तथा सत्तागठबन्धन एमाले र नेपाली कांग्रेसबीच बढ्दो तिक्तता अनि राजसंस्था पुनर्स्थापना आन्दोलनले तीव्रता पाउँदा हुन लागेको पूर्णराष्ट्रपतिको चीन भ्रमणलाई कमसेकम एमालेभित्र गम्भिरताका साथ हेरिएको छ।

एमालेभित्रको एउटा समूहले भण्डारीको सक्रिय राजनीतिमा आगमनलाई एजेण्डा बनाउँदै ओलीको विरोधमा पनि उत्रिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्