सोसल मिडिया
युनिकोड
सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते ९ बुँदे सहमति भएपछि भने आन्दोलनरत शिक्षकहरू घर फर्किए। त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुले। नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भयो। तर,शिक्षकसँगै चैत २० गतेदेखि आन्दोलनमा होमिएको विद्यालय कर्मचारीहरू भने आन्दोलनमै छन्।
नेपाल विद्यालय कर्मचारी परिषद्ले सहमतिमा कर्मचारीहरूको माग मुद्दा नसमेटिएको भन्दै वैशाख १९ गते पत्रकार सम्मेलन नै गरि चरणबद्ध आन्दोलन घोषणा गरेको थियो। परिषद्ले सार्वजनिक गरेको चरणबद्ध आन्दोलनमा वैशाख २१ गतेदेखि जेठ ३ गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने उल्लेख छ। सोही अनुसार यतिखेर कर्मचारीहरू विद्यालयमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्।
परिषद्का महासचिव शान्तिनाथ योगीका अनुसार जेठ ४ गतेका दिन ७५३ वटै स्थानीय तहमा ध्यानाकर्षणपत्र बुझाउने तथा आन्दोलनको बारेमा जानकारी गराउने,५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने कार्यक्रम छ।
जेठ ६ गते शिक्षा विकास तथा समन्वय एकाइ ७७ वटैमा आन्दोलनको जानकारी सहित ध्यानाकर्षणपत्र बुझfउने, ७ गतेकै दिन ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गर्न तथा ध्यानाकर्षण पत्र सामाजिक विकास मन्त्रालयमा बुझाउने कार्यक्रम छ।
यस्तै,गरि परिषद्ले जेठ ९ र १० गते काठमाडौंस्थित माइतीघर मण्डलादेखि सडक आन्दोलनमा सबै उपस्थित हुने र तत्कालै समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रूपरेखाको तयारी गर्ने घोषणा गरेको छ। यी सडक आन्दोलनलाई प्रभावकारी बनाउन परिषद्ले वैशाख २५ गते भर्चुअल बैठक बसेर सम्पूर्ण विद्यालय कर्मचारीको अनिवार्य उपस्थितिका लागि जिल्ला कमिटीले सो सम्बन्धी व्यवस्थापन गर्न निर्देशन दिएको छ।
परिषदले जारी आन्दोलनलाई थप सशक्त र प्रभावकारी आन्दोलन बनाउनका लागि स्थानीय स्तरीय कमिटीको प्रमुख भूमिका रहने भएकाले सक्रियताका साथ कार्यक्रममा सहभागीलाई थप निर्देशन गर्न र सो को जानकारी प्रदेश र केन्द्रमा गर्न सम्पूर्ण जिल्ला कमिटीलाई अनुरोध गर्न आग्रह गरेको छ।
परिषद्ले भनेको छ, ‘हालसम्मका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि प्राप्तिका लागि राष्ट्रिय समिति अनवरत रूपमा लागिपरेको र प्रदेश, जिल्ला र स्थानीय स्तरीय कमिटीले भूमिकामा थप सुदृढीकरणका साथ आन्दोलनको मर्मानुरूप अघि बाड्नुको विकल्प नरहेकाले सबैसँग हातेमालो गरेर आन्दोलन सफलताको र उपलब्धि प्राप्तिलाई अर्जुन दृष्टिका साथ सोही बमोजिमका गतिविधि गर्न गराउनुहुन अनुरोध गर्ने।’
परिषद्का अध्यक्ष गंगाराम तिवारीले महासंघले एकलौटी सहमति गरेपछि आफ्नो माग मुद्दाका लागि कर्मचारीहरू आन्दोलन गर्न बाध्य भएको बताए। शिक्षक महासंघले कर्मचारीहरूलाई धोका दिएको पनि उनले बताए।
‘पहिलासँगसँगै बसेर आन्दोलन गर्याैँ,त्यसबेला कर्मचारीको माग मुद्दाबारे महासंघमा छलफल भयो,’उनले भने,‘सहमति भयो,तर पछि भने महासंघले हामीलाई थाहा नदिइ एकलौटी सरकारसँग सहमति गर्याे,समितिले हाम्रो मागबारे अडान नै लिएन,त्यसैले आन्दोलनमा जान बाध्य भयौँ।’
सरकारले पनि विद्यालय कर्मचारीहरूको माग सम्बोधन गर्न नचाहेको उनले बताए। उनले भने,‘शिक्षकहरूकाे माग स्वीकार्ने,अनि कर्मचारीहरूको माग चाही नस्वीकार्ने हुन्छ र?त्यसैले हाम्रो आन्दोलन जारी छ।’ सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने परिषद्को अडान छ।
परिषद्ले शिक्षक कर्मचारीबीचको विभेद अन्त्य गर्नुपर्ने,हालसम्मका सहमति कार्यान्वयन गर्नुपर्ने, विद्यालय कर्मचारीको विरामी बिदा सञ्चित गराउनुपर्ने माग राखेको छ।
त्यस्तै तलब मान कायम गराउनुपर्ने,विद्यालय कर्मचारीलाई पनि दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने, तोकिएकै समयमा शिक्षा ऐन जारी गराउनुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउनुपर्ने माग उनीहरूका छन्।