सोसल मिडिया
युनिकोड
शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता हुँदैछ। शिक्षा मन्त्रालयमा बुधबार दिउँसो २ बजेदेखि वार्ता हुने बताइएको छ।
यसअघि सोमबार र मंगलबार रातिसम्म शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता भएको थियो। ती वार्तामा ठोस सहमति हुन नसकेपछि आज फेरी वार्ता हुन लागेको हो।
हिजो राति पनि शिक्षक प्रतिनिधि र मन्त्रालयबीच करिब तीन घण्टा लामो छलफल भएको थियो। शिक्षक महासंघसँगको सहमतिमा मन्त्रालयले तयार पारेको ९ बुँदे प्रस्तावमा छलफल भए पनि ठोस सहमति भइनसकेको शिक्षक प्रतिनिधिहरुले बताएका छन्।
छलफलमा सहभागी शिक्षकहरुले मन्त्री परिषद्मा तत्काल ९ बुँदे माग पास गरे आन्दोनलको मोडालिटी परिर्वतन गरेर कक्षा १२ को परीक्षामा सामेल हुने जनाएका थिए।
९ बुँदे प्रस्ताव तत्काल लागू गर्दा आठ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने भएपछि शिक्षा मन्त्रालयले छलफललाई लम्ब्याउँदै लगेको छ। यस विषयमा मन्त्रालयले पटक पटक शिक्षकहरुसँग छलफल गरेको छ।
ग्रेड समायोजन, मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको पारिश्रमिक, राहतका शिक्षकको दुर्गभ भत्ता, सामाजिक सुरक्षा कोषमा सामावेश, निमावि प्रथम र मावि द्वितीयको तलब लगायतका विषय नौ बुँदे प्रस्तावमा समावेश गरेका छन्।
विद्यालय शिक्षा ऐन जारी गर्ने समय तोकेर मन्त्री परिषद्बाट ९ बुँदे प्रस्ताव तत्काल पास गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने शिक्षक आन्दोलनका अगुवाहरुको भनाई छ।
यो बिषयमा आज थप छलफल हुने महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन्। उनले आजको बैठकले नै यो बिषयलाई टुंगो लगाउने आशा व्यक्त गरेकी छन्। बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा समेत प्रधानमन्त्री ओलीले शिक्षकका नौं बुंदे माग प्रस्तुत गरेका छन्।
बालुवाटारमा बसेको गठबन्धनको बैठकले आजदिनभरीमा सरकार र शिक्षकहरुबीच सहमति हुने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनले आज सहमति भएर भोलिदेखि सहज ढंगले पठपाठन हुने विश्वास व्यक्त गरे।
९ वटा बुँदा यसप्रकार छन्-
१) सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने।
२) राहत, अस्थायी/करार, साविक उमावि, सिकाइ अनुदान प्राविधिक धार र विशेष शिक्षा बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने।
३) प्रारम्भिक बाल विकास सहजकर्ता (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने सो पदबमोजिम (प्रति महिना ३२,९०२) तलब उपलब्ध गराउने । त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम रु २६,०८२ उपलब्ध गराउने । सो रकम संघीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने।
४) आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह (१० ग्रेड) र माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड सङ्ख्या कायम गर्ने ।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले निजामती सरह दुर्गम भत्ता पाउने व्यवस्था गर्ने साथै ४५ दिने बिदामा समेत दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने।
६) संस्थागत विद्यालयका शिक्षक/कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकका लागि अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने।
७) नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने । यसरी समावेश गर्दा विश्वविद्यालयका शिक्षकहरूसँगै राख्ने।
८) निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय सरह हुने व्यवस्था गर्ने।
९) नेपाल शिक्षक महासङ्घद्वारा सञ्चालन गरिएको आन्दोलन चलिरहेको बखत प्रधानाध्यापक/शिक्षक/कर्मचारीमाथि स्थानीय तहले जथाभावी सरुवा गर्ने तथा तलब भत्ता नदिने भनी धम्काउने काम गर्न थालेका छन् । यस्ता सबै काम कारबाही बदर गरिनुपर्ने ।