सरकारले शिक्षकसँग बुधबार २ बजे सहमतिमा हस्ताक्षर गर्ने

ओलीले नौ बुँदेमा फूलबुट्टा भर्ने
मंगलबार, वैशाख १६, २०८२

सरकार र शिक्षकहरूबीचको वार्ता मंगलबार पनि निष्कर्षविहीन भएको छ । मंगलबार सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तसहित महासंघका पदाधिकारी वार्तामा बसेका थिए ।

भोलि टुंग्याउने गरी आजलाई वार्ता सकिएको नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए  "सरकारसँगको आजको वार्ता सकिएको छ । हामी छलफलकै क्रममा छौँ, निष्कर्ष हुन्छ," उनले भने, "भोलि टुंग्याउनेछौँ ।"

उनले सरकारसमक्ष नौबुँदे प्रस्ताव पेस गरेको बताए । "सरकारसमक्ष नौबुँदे प्रस्ताव पेस गरेका छौँ । यसमा आज छलफल भयो । यसका लागि भोलि बिहान महासंघको मिटिङ बस्नुपर्ने भयो । भोलि दिउँसो २ बजे सहमतिमा हस्ताक्षर हुन्छ," उनले भने ।

महासचिव थापाका अनुसार, हस्ताक्षरपछि आन्दोलनको मोडालिटी परिवर्तन गरिनेछ । "हस्ताक्षरपछि आन्दोलनको मोडालिटी परिवर्तन गरिनेछ । मोडालिटी कस्तो हुने भन्नेबारे भोलि बिहानको बैठकले निर्णय गर्छ," उनले भने ।

आजको वार्तामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

महासंघले विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलबको ग्यारेन्टी, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, दुर्गम भत्ता व्यवस्था गर्ने, शिक्षकहरूको ग्रेड समायोजन गर्ने, मर्यादा क्रममा शिक्षकहरूलाई समेट्ने, शिक्षकको उपचारमा छुटको व्यवस्था गर्ने, निमावि प्रथम र मावि द्वितीयको तलबमा एकरूपता ल्याउने विषयलाई शिक्षक महासंघले वार्तामा उठाएको छ ।

शिक्षकहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।

९ वटा बुँदा यसप्रकार छन्-

१) सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने।

२) राहत, अस्थायी/करार, साविक उमावि, सिकाइ अनुदान प्राविधिक धार र विशेष शिक्षा बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने।

३) प्रारम्भिक बाल विकास सहजकर्ता (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने सो पदबमोजिम (प्रति महिना ३२,९०२) तलब उपलब्ध गराउने । त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम रु २६,०८२ उपलब्ध गराउने । सो रकम संघीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने।

४) आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह (१० ग्रेड) र माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड सङ्ख्या कायम गर्ने ।

५) स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले निजामती सरह दुर्गम भत्ता पाउने व्यवस्था गर्ने साथै ४५ दिने बिदामा समेत दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने।

६) संस्थागत विद्यालयका शिक्षक/कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकका लागि अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने।

७) नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने । यसरी समावेश गर्दा विश्वविद्यालयका शिक्षकहरूसँगै राख्ने।

८) निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय सरह हुने व्यवस्था गर्ने।

९) नेपाल शिक्षक महासङ्घद्वारा सञ्चालन गरिएको आन्दोलन चलिरहेको बखत प्रधानाध्यापक/शिक्षक/कर्मचारीमाथि स्थानीय तहले जथाभावी सरुवा गर्ने तथा तलब भत्ता नदिने भनी धम्काउने काम गर्न थालेका छन् । यस्ता सबै काम कारबाही बदर गरिनुपर्ने ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २३:२९
प्रतिक्रिया दिनुहोस्