मन्त्रिपरिषदको बैठकले शिक्षकका माग पूरा गर्न राख्यो अर्को भाखा, के गर्यो निर्णय ? 

सोमबार, वैशाख १५, २०८२

सोमबार आठ बजेपछि बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ। बैठकले सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षकहरूले उठाएको मागबारे भोलि वा पर्सिसम्ममा सहमति हुने बताएका छन् । 

सोमबार मन्त्रिपरिषद् बैठकपछि बोल्दै मन्त्री गुरुङले सो बताएका हुन् । "भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ । विद्यालय फर्काउन वातावरण बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु," उनले भने ।

शिक्षामन्त्रीले सोमबार शिक्षक महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग वार्ता गरेर केही कुरा निष्कर्षमा पुगेको उनले जानकारी दिए । 

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा दिउँसो छलफल भएपनि त्यसले ठोस निचोड ननिकालेको बताईएको छ। छलफलमा शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका महामन्त्री गगन थापा, एमाले महासचिव शंकर पोखरेल र शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित तीन जना प्रतिनिधि छलफलमा सहभागी थिए ।  

बैठकमा विभागीय मन्त्री रघुजी पन्तले आजको वार्ताको बारेमा जानकारी गराएको तर बैठकको एजेन्डा भने आन्दोरत शिक्षकको विषयमा नरहेको मन्त्री गुरुङले बताए।

‘मन्त्रीज्यूले वार्ता गर्नुभएको छ। केही कुरा निष्कर्षमा पुगेकोजस्तो लाग्छ मलाई। भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ। विद्यालय फर्काउन वातावरण बनाउन सकिन्छ। मन्त्रालय र शिक्षक प्रतिनिधिबीचको संवाद जानकारी गराउनुभयो। भोलिसम्ममा सम्भवत: समाधान हुने अपेक्षा गरिएको छ।’

शिक्षकहरुसँग अहिले फेरि शिक्षा मन्त्रालयमा वार्ता हुँदै छ।  

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्