एक सातामै तोलामा १६ हजार रुपैयाँ बढेको सुनको मूल्य आज घट्यो

शुक्रबार, वैशाख ५, २०८२

एक सातामै तोलामा १६ हजार रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ। 

आज सुन प्रतितोला आठसय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहीबार सुनको मूल्य तोलामा तीनहजार ६ सय रुपैयाँ बढेर एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

बुधबार पनि सुन तोलाको २७ सय रुपैयाँ बढेको थियो। यसअघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य एक हजार ९ सय ६० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ। 

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेकाे हाे। 

अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्