सोसल मिडिया
युनिकोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृतलाई सजाय तोकिएको छ। विशेष अदालतले गत २५ पुसमा दायर मुद्दामाथि आंशिक ठहरको फैसला गरेको हो।
विशेषका अनुसार धुर्वप्रसाद सापकोटालाई कैद र जरिवानाको सजाय सुनाइएको हो। उनलाई दुई महिना १५ दिन कैद तथा ५० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाइएको छ। विशेषका सदस्यहरू रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस मुद्दामा बिहीबार फैसला गरेको हो। साथै, पीडित राहत कोषमा दुई हजार रुपैयाँ दाखिला गर्ने आदेश इजलासले गरेको छ।
सापकोटा अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुन् भने पछिल्लो समय उनी नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत थिए। मेल्लेखमा मेसिनरी खरिदको कार्यमा भ्रष्टाचार गरेको उजुरी अख्तियारको कञ्चनपुर कार्यालयमा परेको थियो। यस विषयमा अनुसन्धान चलिरहेको वेला सापकोटाले घुस दिन खोजेका थिए।
अभियोगपत्रअनुसार सापकोटा अख्तियारको कञ्चनपुरस्थित कार्यालयको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नारायणसिंह विष्टलाई उनकै कार्यकक्षमा आई खाममा पैसा राखी दिन चाहेका थिए। अनुसन्धान अधिकृतले खाम नलिई त्यसमा भएको सामान के हो भनेर सोध्दा उनले एक लाख रुपैयाँ नगद निकालेर दिएकोमा आफैँ स्वेच्छाले दिएको बताएका थिए। विष्टले भने घुस दिन खोजेकाले कारबाही गरिपाऊँ भनी निवेदन दिएपछि सापकोटाले घुस दिने मनसायसहित उक्त रकम ल्याएको भन्दै अख्तियारले मुद्दा चलाएको हो।
आफूविरुद्धको उजुरीमा स्थलगत अनुगमन र विस्तृत अनुसन्धान भइरहँदा अधिकृत सापकोटाले अनुसन्धान प्रभावमा पार्न, खरिद कार्यमा भएका भ्रष्टाचारजन्य र अन्य अनियमितताको विषयमा कारबाही अघि नबढाई अनुसन्धान अधिकृतलाई घुस दिन चाहेका थिए। अनुसन्धानको लागि आवश्यक कागजात बुझाउन भनी अख्तियारको कार्यालय छिरेका उनीविरुद्ध तीन महिनाअघि मात्र मुद्दा दायर भएको थियो। सापकोटाले गत फागुनमै अवकाश पाईसकेका छन्।
विशेषले भ्रष्टाचार निवारण ऐनको दफा २१ अनुसार भ्रष्टाचारको कसूर गरेको अभियोगमा दोषी पाएको हो। उक्त दफाले कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था गरेकाले उनलाई आधा कैद र घुस रकमको आधा रकम जरिवाना हुने फैसला भएको विशेषको संक्षिप्त फैसलामा छ। वादीका साक्षीले समेत ‘पैसा दिन खोजेको आफूले देखेको बताएपछि विशेष उक्त निर्णयमा पुगेको हो। सापकोटाले ‘सरले सहयोग गरिदिनुहुन्छ भने दिन्छु’ भन्ने मनसायले मात्र लिएर गएको बताएका थिए।