सोसल मिडिया
युनिकोड
एक महिनादेखि रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि ६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को बढुवा सिफारिस भएको छ ।
गृह मन्त्रालयका सचिव नेतृत्व रहेको बढुवा समितिले बिहीबार ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
एआईजी बढुवाका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत डीआईजी चन्द्र कुवेर खापुङ, मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्य, वाग्मती प्रदेश प्रहरी प्रमुख कृष्णहरि शर्मा छन् । उनीहरू हालका आईजीपी दिपक थापाकै ब्याची हुन् ।
तर, नियुक्ति भने फरक–फरक मितिमा लिएका थिए । त्यस्तै २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका हाल लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्की, कोसी प्रदेश प्रमुख डीआईजी राजन अधिकारी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यरत डीआईजी मनोज केसी एआईजीका लागि बढुवा सिफारिस भएका हुन् ।
२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका डीआईजीहरु भने छुटेका छन् । बढुवाको प्रतिस्पर्धामा प्रहरीको विशेष ब्यूरोमा कार्यरत डीआईजी सिद्धिविक्रम शाह, उमा चतुर्वेदी, डम्बर बिक, सुशीलसिंह राठौर पनि थिए ।
तर, यो टोली नै छुटेको छ । प्रहरीमा लामो समयदेखि प्रहरीमै भर्ना भएका ब्याची र गुप्तचर विभागबाट आएका टोलीबीच आन्तरिक द्वन्द्व छ ।
एसएसपी बढुवा हुँदासम्म डीआईजी शिद्धिविक्रम शाह हाल सिफारिस भएका दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीभन्दा अगाडि थिए ।
तर, डीआईजी बढुवामा भने शाहलाई पछि पार्दै उनीहरु अगाडि बढुवा भएका थिए ।
एआईजी बढुवामा समेत त्यसैको निरन्तरता भएको हो । हाल बढुवा भएका ६ जनामध्येबाट दुईजना प्रहरी महानिरीक्षक आर्ईजीपी बन्नेछन् । हालका आईजीपी थापा भदौमा अवकाशमा जाँदैछन् ।
त्यसपछि दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीमध्येबाट एकजना आईजीपी बन्नेछन् ।
उनीहरु भने लामो समय आईजीपी बन्नेछन् । उनीहरु तीन जनामध्ये जो आईजीपी बने पनि २०५३ को टोलीबाट भने आईजीपी बन्ने सम्भावना रोकिने छ ।