नेप्सेमा आज घटेरै लाग्यो ताला, कति भयो कारोबार ?

सोमबार, वैशाख २४, २०८१

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार घटेर बन्द भएको छ । नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा बन्द भएको हो ।

आज दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भयो । ६२ कम्पनीको सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बोटलर्स नेपाल (तराई)को सेयर मूल्य प्रतिकित्ता एक हजार १६४ रुपैयाँ ८० पैसाले बढेर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ हजार ६९ रुपैयाँ ८० पैसा कायम भएको छ । पोखरा फाइनान्स र डोल्टी पावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीले आज २८ प्रतिशत लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता आकर्षित भएर कारोबार बढेको हो । यो कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ मध्ये विकास बैंक समूहबाहेक सबै घटेका छन् । विकास बैंक समूहको परिसूचक ०.२३ प्रतिशतले बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक १.९६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्