सोसल मिडिया
युनिकोड
चल्तीका २० बैंकले तीनसय दिन अर्थात १० महिनामा ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन्। मोटामोटी हिसाब गर्दा ती २० बैंकले एकैदिनमा १६ करोड भन्दा बढी नाफा आर्जन गर्न सफल भएका हुन्।
नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूले यो नाफा कमाएका हुन् । यो अवधिमा सर्वाधिक नाफा नबिल बैंकले कमाएको छ। उक्त बैंक अर्बपति समेत रहेका कांग्रेसका सांसद बिनोद चौधरीको हो। नबिल एक्लैले पाँच अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने उ पछि बढी नाफा कमाउने दोस्रोमा ग्लोबल आईएमई बैंक छ। उसले १० महिनामा चार अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जताततै केबलकार बानाउने चन्द्र ढकालको बैंक चौधरीलाई नाफा कमाउने सवालमा पछ्याउदै छ।
तेश्रो बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उक्त अवधिमा तीन अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । प्राइम कमर्सियल बैंकले तीन अर्ब २२ करोड ५७ लाख र एभरेष्ट बैंकले दुई अर्ब ९८ करोड तीन लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै सरकारी स्वामित्वको कृषि विकास बैंकले दुई अर्ब ६९ करोड नाफा भेला गरेको छ।
उता,स्ट्याण्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ५६ करोड, प्रभु बैंकले दुई अर्ब ५० करोड र एनएमबी बैंकले दुई अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
त्यस्तै, हिमालयन बैंकले दुई अर्ब २२ करोड, एनआईसी एसिया बैंकले दुई अर्ब १६ करोड, सिद्धार्थ बैंकले एक अर्ब ९७ करोड, लक्ष्मी सनराइज बैंकले एक अर्ब ९५ करोड, सानिमा बैंकले एक अर्ब ७४ करोड, सिटिजन्स इन्टरनेसनल बैंक नेपालले एक अर्ब ५० करोड, कुमारी बैंकले एक अर्ब ४२ करोड नाफा थुपार्न सफल भएका छन्।
नेपाल एसबीआई बैंकले एक अर्ब ४२ करोड नाफा भेला गरेको छ भने मेडीसिटी अस्पतालका साहु उपेन्द्र महतोको माछापुच्छ्रे बैंकले एक अर्ब १० करोड नाफा कमाएको छ। नेपालकै सबैभन्दा बुढो नेपाल बैंकले भने सबैभन्दा कम ५९ करोड तीन लाख रुपैयाँ मात्र नाफा कमाएर सबैभन्दा पुछारमा बस्न बाध्य भएको छ।