एकैदिनमा छयालीस महिनाको तलब असुल्ने उपसचिवलाई अख्तियारको सनासो

मंगलबार, कात्तिक १७, २०८३

दशैं बिदापछि कार्यालय खुलेको ठिक एक साता पुगेकै दिन घुस सहित ठाउँको ठाउँ समातिएका उपसचिव भोजराज घिमिरेविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उपसचिवले पाउने मासिक अन्तिम तलव ७१ हजार चार सय एकासी रुपैयाँले हुन आउने ४६ महिनाको तलब बराबरको घुस एकैदिनमा असुल्न खोज्दा उनी फन्दामा परेका हुन् ।

हिजो अर्थात कार्तिक १६ गते ३३ लाख घुस लिँदालिँदै पक्राउ परेका मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले ठेक्का सम्झौताको मोबिलाइजेसन फण्ड भुक्तानी तथा बाँकी काम सहजीकरण गरिदिने आश्वासन दिएको पाइएको छ ।

घिमिरे र गुड नेबर्स इन्टरप्राइजेज प्रा.लि. कोटेश्वर, काठमाडौंका सञ्चालक वरुण ढुङ्गेललाई सोमबार अख्तियारले निकोसेराबाट पक्राउ गरेको थियो । उनीहरु दुबैजना विरुद्ध अख्तियार विशेष अदालत पुगेको हो । मुद्दा दायर भएसँगै घिमिरे निलम्बित भएका छन् ।

अख्तियारका अनुसार ठेक्का सम्झौताबमोजिमको नियमानुसार बाँकी किस्ता मोबिलाइजेसन फण्डको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएको र अन्य बाँकी काममा पनि सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिएको भन्ने सूचना तथा उजुरी आयोगमा परेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १६:४३
प्रतिक्रिया दिनुहोस्