तरलताको चपेटामा रहेका बैंकलाई राहत दिन राष्ट्र बैंकले ३० अर्ब नगद तान्ने

शुक्रबार, असोज २, २०८३

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । अधिक तरलताको चपेटामा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई सहजता प्रदान गर्न केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब नगद तान्ने भएको हो ।

२३ भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ८३ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैगर्दा यसै अवधिमा ६० खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा जम्मा ७१.४८ प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंक तथा वित्तीय संस्थाहरूसँग १३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको छ ।

तर, कर्जाको माग नै नहुँदा तरलता व्यवस्थापनको संकट निम्तिएको छ । यही संकटकाबीच केन्द्रीय बैंकले निक्षेप संकल बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले आजै ३० अर्ब रुपैयाँ उठाउने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ११:४४
प्रतिक्रिया दिनुहोस्